यात्रुबाहक बस त्रिशूली किनारमा खस्दा १८ जनाको मृत्यु, २६ घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १०, सोमबार (१ दिन अघि)
  • ८१ पटक पढिएको
यात्रुबाहक बस त्रिशूली किनारमा खस्दा १८ जनाको मृत्यु, २६ घाइते

धादिङ, ११ फाल्गुन। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौंडास्थित सडकखण्डमा आइतबार राति भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

११ गते राति करिब १:३० बजे पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको माछापुछ्रे टुर एण्ड ट्राभल्सको यात्रुबाहक बस अनियन्त्रित भई करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा १५ जना, प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ खटिएको मोबाइल टोलीबाट ६ जना तथा नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ७ जना गरी २८ जनाको टोली उद्धारमा खटिएको थियो।

उद्धारपछि घाइते २६ जनालाई राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाइएको थियो। त्यसमध्ये २५ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर तथा अन्य अस्पतालहरूमा रिफर गरिएको छ।

घटनास्थलमा धादिङका प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीसहित सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए। जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी उपरीक्षक सुमित खड्काको कमाण्डमा ६० जना प्रहरी परिचालन गरिएको थियो भने नेपाली सेनाको २१ जनाको टोलीसमेत उद्धारमा संलग्न भएको थियो।

मृतकको विवरण

प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ९ जनाको शव राखिएको छ, जसमध्ये १ जना पुरुष विदेशी नागरिक रहेको जनाइएको छ। त्यस्तै जिल्ला अस्पताल धादिङमा ६ पुरुष र ३ महिला गरी ९ जनाको शव राखिएको छ, जसमध्ये १ महिला विदेशी नागरिक रहेको बताइएको छ। अधिकांश मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको अवस्था

मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र टिचिङ अस्पतालमा उपचारपछि अधिकांशलाई काठमाडौं रिफर गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरू विभिन्न जिल्ला तथा एक विदेशी नागरिक (न्युजिल्याण्ड र चीन) समेत रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। बस कसरी अनियन्त्रित भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

१%

ताजा अपडेट

खोजी गर्नुहोस