सहजा खोलाको पुल निर्माण अलपत्र, सिरहामा स्थानीय आक्रोशित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २६, सोमबार (२ हप्ता अघि)
  • ३ पटक पढिएको
सहजा खोलाको पुल निर्माण अलपत्र, सिरहामा स्थानीय आक्रोशित

सिरहा, २६ माघ। हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले सोमबार बिहान अलपत्र पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन् ।

प्रदर्शनका क्रममा स्थानीयले प्रहरी, प्रशासन र ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवका अनुसार पुल निर्माण अलपत्र हुँदा दैनिकजसो दुर्घटना  भइरहेको छ र निर्दोष नागरिकले ज्यान गुमाइरहनु परेको छ ।

अर्का स्थानीय लक्ष्मी प्रसाद यादवका अनुसार वर्षामा आउने बाढी तर्न नसक्दा आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ, जसले गर्दा दैनिक यात्रामा कष्टकर हुने गरेको छ ।

यसैगरी अमित कुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको लापरबाही भएको आरोप लगाए ।

सुगम निर्माण सेवाले पाएको छ ठेक्का

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिका क्षेत्रका नागरिकलाई आवतजावतमा ठूलो समस्या भइरहेको बताए । पटक–पटक ठेकेदारसँग छलफल भए पनि काम अघि नबढेको उनको भनाइ छ ।

२०७९ साल माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर धनुषाले पुल तथा कल्भर्ट निर्माणको ठेक्का पाएको थियो । सम्झौता अनुसार म्याद सकिएर एकपटक थप भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि काम जम्मा ३९ प्रतिशत मात्र सम्पन्न भएको छ । दरैयामा बन्ने बक्स कल्भर्टको काम त सुरु नै भएको छैन ।

‘ठेकेदार सम्पर्कविहीन’

हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्ण कुमार महतोका अनुसार ठेकेदार हाल सम्पर्कविहीन छन् । एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने तयारीमा रहेको उनले बताए ।

सिरहामा हुलाकी सडक अन्तर्गत रहेका पाँच योजनामध्ये हालसम्म लगदीगढियानी सडकको काम मात्र अघि बढेको छ । अन्य योजनाहरू कहिले सुरु हुने भन्ने अझै टुंगो छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस