सिरहामा डकैती काण्ड : भारतीय नागरिकसहित चार जना पक्राउ, हतियार र लागूऔषध बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १०, सोमबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
सिरहामा डकैती काण्ड : भारतीय नागरिकसहित चार जना पक्राउ, हतियार र लागूऔषध बरामद
सिरहा, ११ फागुन । तीन महिना अघि सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउन्ड गोली, करिब ३० ग्राम खैरो हेरोइन जस्तो लागुऔषध तथा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी एवं डिएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका माथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो । घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको जनाएको छ भने फरार रहेका अन्य व्यक्तिको खोजी कार्य तीव्र बनाइएको छ । प्रहरीले आपराधिक गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस