म्यानमारमा सैनिक ‘कू’ : आङ सान सू चीविरुद्ध कैयाैँ आराेप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २२, बिहिबार (५ साल अघि)
  • ४ पटक पढिएको
म्यानमारमा सैनिक ‘कू’ : आङ सान सू चीविरुद्ध कैयाैँ आराेप

म्यानमार प्रहरीले गएको सोमवार सैनिक ‘कू’ पछि निर्वाचित नागरिक नेतृ आङ सान सू चीविरुद्ध विभिन्न अभियोग दर्ता गरेको छ ।

प्रहरीको दस्तावेजअनुसार सू चीलाई आउँदो फेब्रुअरी १५ सम्म हिरासतमा राखिने छ । उनीविरुद्ध आयात–निर्यात कानुनलाई ताेडेको र गैरकानुनी रुपमा सञ्चार उपकरणहरु कब्जा गरेको आरोप लगाइएको छ ।

आङ सान सू ची अहिले कहाँ छिन् भन्नेबारेमा स्पष्ट नभए पनि उनलाई राजधानी ने पी तमा रहेको उनकै निवासमा राखिएको बताइएको छ ।

म्यानमारका राष्ट्रपति विन विन्टलाई पनि आरोप लगाइएको छ, दस्तावेजका अनुसार राष्ट्रपतिमाथि कोरोना महामारीका क्रममा सभामा प्रतिबन्ध लगाएको नियमको उल्लङ्घन गरेको आरोप छ । उनलाई पनि दुई हप्ताका लागि हिरासतमा राखिएको बताइएको छ ।

फेब्रुअरी १ को बिहानै सेनाले ‘कू’ गर्दै सत्ता हातमा लिएयता राष्ट्रपति वा सू चीलाई देख्न/सुन्न सकिएको छैन ।

सशस्त्र बलका प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा सैनिक ‘कू’ पछि एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको हो ।

गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । यद्यपि सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियाे ।

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक गएकाे साेमवार बस्ने तयारी भएका बेला सेनाले नेतृ आङ सान सू कीलगायतका नेतालाई हिरासतमा लिएको थियाे । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस