देशभर २०औँ लोकतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (४ घण्टा अघि)
  • ५८ पटक पढिएको
देशभर २०औँ लोकतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै

वीरगञ्ज, ११ वैशाख। आज २०औँ लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

११ वैशाख २०६३ मा तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम ८ जेठ २०५९ मा विघटन भएको संसद् पुनर्स्थापना गरे । जनताको विजय भएको खुसीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बिच १२ बुँदे समझदारी भयो ।

मङ्सिर २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । फागुन २०६२ देखि पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले ११ वैशाखको राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

४ जेठ २०६३ को संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

यसैको जगमा २८ चैत २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

४ मङ्सिर २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाबाट ३ असोज २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस