पुल निर्माणमा ढिलाइ : कमलामा आन्दोलनको धम्की

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (१ घण्टा अघि)
  • ८० पटक पढिएको
पुल निर्माणमा ढिलाइ : कमलामा आन्दोलनको धम्की

काठमाडौं, ११ वैशाख। धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा लामो समयदेखि निर्माणधीन पुलको निर्माण कार्य तत्काल अघि नबढाइए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

नयाँ कमला पुल निर्माण संघर्ष समितिले विगतमा गरिएको विभिन्न प्रतिबद्धता र सहमति अनुसार तत्काल प्रक्रिया सुरु गर्न माग गर्दै सात दिनको अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो । समितिले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेश सरकारले २०८१ भदौ ७ गते प्रदेश सरकारसँग भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको स्मरण गराउंदै आन्दोलनको चेतावनी सहितको स्मरणपत्र बुझाएका छन् । दुई वर्ष बित्न लाग्दा पनि पुल निर्माणको ठेक्का प्रक्रिया सुरु नगरिएको भन्दै जनतालाई भ्रममा राखिएको आरोप लगाइएको छ ।

स्मरणपत्रमा चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन लाग्दासमेत निर्माण प्रक्रिया अघि नबढाइएको र जीर्ण अवस्थामा रहेको पुरानो पुलको प्रभावकारी मर्मतसमेत हुन नसकेको गुनासो गरिएको छ । केन्द्र सरकारबाट पटक पटक म्याद थपिँदा नागरिकमा अन्योल बढेको भन्दै समितिले आपत्ति जनाएको छ ।

समितिका अनुसार हाल प्रस्तावित पुलको डिजाइनमै त्रुटि रहेको र सम्बन्धित बाँध निर्माणको ठेक्का प्रक्रियासमेत अघि नबढेकाले आगामी दिनमा समस्या अझै जटिल हुन सक्ने चेतावनी दिइएको छ । स्मरणपत्र बुझ्दै मुख्यमन्त्री यादवले पुल निर्माणका लागि प्रदेश सरकारले पटक पटक पहल गरेको र बजेटसमेत विनियोजन गरिएको भए पनि प्रक्रिया अघि बढ्न नसकेको स्वीकार गर्दै उक्त परियोजना संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकाले आवश्यक पहलका लागि संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघर्ष समितिले सात दिनभित्र निर्माण कार्य प्रक्रिया अघि नबढाइए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत अनसन, चक्काजाम तथा सडक अवरोधजस्ता गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस