ब्राउन सुगरसहित ८ जना पक्राउ, कोशीमा लागूऔषध कारोबार बढ्दो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (५ घण्टा अघि)
  • ४९ पटक पढिएको
ब्राउन सुगरसहित ८ जना पक्राउ, कोशीमा लागूऔषध कारोबार बढ्दो

काठमाडौं, १० वैशाख। कोशी प्रदेशका विभिन्न जिल्लामा  प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबार दिन प्रतिदिन बढ्दो देखिएको छ । पछिल्लो एकै दिनमा सुनसरी झापा, मोरङ र उदयपुर जिल्लाबाट आठ जना कारोबारी पक्राउ परेका छन् । निरन्तरजसो भइरहेको पक्राउले कोशी प्रदेशमा लागूऔषधको कारोबार बृद्धि भएको र  नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता सुमनकुमार तिम्सिनाले प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबार गर्ने गिरोहका आठ जनालाई पक्राउ गरिएको बताएका छन् । उनका अनुसार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट सैफ अली सिदिकी २० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । कोशी गाउँपालिका–१ बाट हरिबहादुर श्रेष्ठ ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको उनले बताए ।

झापाको अर्जुनधारा नगरपालिका–११ मा चेकजाँचका क्रममा तीन जनालाई २७ ग्राम बढी मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा संजोग राई, रुपेश दर्जी र अमृत दर्जी रहेका एसपी तिम्सिनाले बताएका छन् । मोरङको विराटनगर–१६ मा पनि लागूऔषध कारोबारमा संलग्न समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका–१ बाट मोटरसाइकलमा सवार दुई जनालाई १५५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। उनले पक्राउ परेका सबै अभियुक्तलाई सम्बन्धित प्रहरी कार्यालहरुको  हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताएका छन् ।

नेपाल–भारत खुला सीमा नाकाको कारण सीमावर्ती क्षेत्र हुँदै दैनिकजसो साना–ठूला परिमाणमा ब्राउन सुगर नेपाल भित्रिने गरेको सुरक्षा निकायको भनाइ छ । विशेष गरी सुनसरी, मोरङ र झापा जिल्लाका नाकाहरू प्रयोग गरी तस्करहरूले सहज रूपमा ओसारपसार गर्ने गरेका छन् । प्रहरीको सक्रियताले दैनिकजसो कारोबारी पक्राउ परे पनि कारोबारीहरुको जालो व्यापक बन्दै जाँदा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस