विद्यार्थीलाई ४५% भाडा छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
विद्यार्थीलाई ४५% भाडा छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन

काठमाडौं, १० वैशाख। यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ ?’ बिहीबार भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।

व्यवसायीहरूका अनुसार वि.सं. २०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो ।

तर, मुलुक सङ्घीयतामा गएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७३ देखि नै उक्त ६० प्रतिशत कर छुटको सुविधा हटाएका छन् ।

महासङ्घले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै सरकारले दिने सुविधाहरू हटाएको र केन्द्र तथा प्रदेशबिच समन्वय नभएको अवस्थामा भाडा छुट मात्रै कार्यान्वयन गर्न नसकिने अडान राखेको छ ।

जबसम्म व्यवसायीले पाउने कर छुटलाई कानुनी रूपमा सुनिश्चित गरिँदैन, तबसम्म विद्यार्थी भाडा छुटको परिपत्र कार्यान्वयन गर्न नसकिने व्यवसायीको ठहर छ ।  यता, विद्यार्थीहरूले भने आफ्नो कानुनी अधिकारको रक्षा हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम गरेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस