अब आइतबार विद्यालय खोल्न नपाइने, किताब र ड्रेस बिक्रीमा पनि वीरगञ्ज महानगरको रोक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (२ हप्ता अघि)
  • ६९ पटक पढिएको
अब आइतबार विद्यालय खोल्न नपाइने, किताब र ड्रेस बिक्रीमा पनि वीरगञ्ज महानगरको रोक

वीरगञ्ज, २७ वैशाख। वीरगञ्ज महानगरपालिका को शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालय तथा मन्टेश्वरीहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरेको छ । नेपाल सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरिसकेको अवस्थामा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण विद्यालयहरूमा आइतबार पठनपाठन पूर्ण रूपमा बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो ।

महाशाखा प्रमुख आनन्द लामिछाने द्वारा जारी सूचनामा केही विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत विद्यालय सञ्चालन गरिरहेको जानकारी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । महानगरपालिकाका अनुसार यस्तो कार्य सरकारको निर्णयविपरीत मात्र नभई शैक्षिक अनुशासन तथा प्रचलित कानुनी व्यवस्थाको खुला उल्लंघन हो ।

महानगरपालिकाले विद्यालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाउने तयारीसमेत गरेको जनाएको छ । केही निजी तथा संस्थागत विद्यालयहरूले विद्यालय परिसरभित्रबाटै पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गरिरहेको गुनासो आएपछि प्रशासन थप कडाइका साथ प्रस्तुत भएको बताइएको छ ।

विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्ने प्रवृत्तिले विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिएको भन्दै महानगरपालिकाले यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । विद्यालय हाताबाटै किताब, ड्रेस तथा स्टेशनरी बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी तथा अनावश्यक सङ्ख्यामा पुस्तकहरू विद्यार्थीमाथि थोपर्ने कार्यप्रति पनि महानगरपालिका गम्भीर बनेको छ । साना बालबालिकालाई अत्यधिक पुस्तकको बोझ बोक्न बाध्य बनाउँदा उनीहरूको मानसिक तथा शारीरिक विकासमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल यस्तो प्रवृत्ति रोक्न निर्देशन दिइएको छ ।

महानगरपालिकाका अनुसार आवश्यकभन्दा बढी पुस्तक प्रयोग गराएर अभिभावकबाट अनावश्यक आर्थिक भार उठाउने तथा विद्यार्थीलाई तनाव दिने कार्य सह्य नहुने उल्लेख गरिएको छ । अनुगमनका क्रममा अनावश्यक पाठ्यपुस्तक प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

शैक्षिक क्षेत्रलाई व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउन महानगरपालिकाले थालेको पहलको अभिभावक तथा शिक्षाप्रेमीहरूले स्वागत गरेका छन् । विशेषगरी महाशाखा प्रमुख आनन्द लामिछानेको सक्रियता, कानुन कार्यान्वयनप्रतिको प्रतिबद्धता तथा निजी विद्यालयहरूलाई अनुशासनभित्र ल्याउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ ।

महानगरपालिकाले “कानुन मान्नु हामी सबैको साझा कर्तव्य हो, कानुन विपरीत कार्य गर्नु कारबाहीको भागीदार हुनु हो” भन्ने सन्देशसहित सम्पूर्ण विद्यालय प्रशासनलाई सरकारी निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । साथै, सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने वा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थोपरिने कार्य दोहोरिएमा कुनै पनि हालतमा छुट नदिइने स्पष्ट चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस