गरुडा–५ महम्मदपुरमा छठ पर्वको तयारी तीव्र, वडाध्यक्ष रामबिनोद साहद्वारा निर्माणाधीन छठ घाटको अनुगमन

गरुडा–५ महम्मदपुरमा छठ पर्वको तयारी तीव्र, वडाध्यक्ष रामबिनोद साहद्वारा निर्माणाधीन छठ घाटको अनुगमन

रमेश कुमार यादब
कार्तिक २८, रौतहट
हिन्दु धर्मावलम्बीहरूको महान् आस्था, श्रद्धा र विश्वासको पर्व छठलाई भव्य तथा सभ्य रूपमा मनाउने उद्देश्यले रौतहटको गरुडा नगरपालिकामा छठ पर्वको तयारी तीव्र पारिएको छ। यसैक्रममा गरुडा नगरपालिका–५ का वडाध्यक्ष रामबिनोद साहले महम्मदपुर ब्यारेजस्थित निर्माणाधीन छठ घाटको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। छठ पर्व नजिकिँदै जाँदा व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाआजा गर्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले वडाभित्र रहेका पोखरी, नदी तथा विभिन्न छठ घाटहरूको सरसफाइ, सजावट र आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हो।

सोही क्रममा वडाध्यक्ष साहले महम्मदपुर ब्यारेजस्थित निर्माणाधीन छठ घाटको निरीक्षण गर्दै भइरहेको कामको प्रगति र व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। निरीक्षणका क्रममा वडाध्यक्ष साहले छठ पर्वमा व्रत बस्ने व्रतालु तथा श्रद्धालु भक्तजनलाई कुनै किसिमको असुविधा हुन नदिन वडा कार्यालयले विशेष प्राथमिकताका साथ तयारी गरिरहेको बताउनुभयो। उहाँले छठ पर्व सबै जातजाति, समुदाय र वर्गका मानिसहरू एकै ठाउँमा भेला भएर श्रद्धा र भक्तिपूर्वक मनाउने साझा सांस्कृतिक पर्व भएकाले यसले समाजमा आपसी सद्भाव, आत्मीयता, भाइचारा र एकताको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “हाम्रो वडामा मनाइने छठ पूजामा श्रद्धालु भक्तजनहरूलाई कुनै पनि समस्या नहोस् भन्ने उद्देश्यले सम्पूर्ण तयारी गरिरहेका छौँ। यहाँ छठ पूजा गर्न सबै जना मिलेर एकताबद्ध भएर जुट्नुभएको छ। यसले समाजमा आपसी आत्मीयता र एकताको भावना अझ बलियो बनाएको छ।” वडाध्यक्ष साहका अनुसार यस वर्ष गरुडा नगरपालिका–५ महम्मदपुरसहित आसपासका विभिन्न स्थानमा रहेका एक दर्जनभन्दा बढी छठ घाटलाई विशेष रूपमा सजाउने काम भइरहेको छ। स्थानीयवासीहरू आफ्ना घरनजिकै रहेका पोखरी तथा नदी किनारका घाटहरूलाई सरसफाइ गरी आकर्षक रूपमा सजाउन जुटेका छन्।

छठ पर्वमा व्रतालुहरूले घरनजिकैको पोखरी तथा नदी घाटमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेकाले स्थानीय स्तरमै घाट व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको उहाँले बताउनुभयो। छठ घाटलाई आकर्षक बनाउन घाट परिसरको सरसफाइ, नदी किनार व्यवस्थापन, पाल तथा टेन्ट टाँग्ने, विद्युत् बत्ती जडान गर्ने र व्रतालुहरूलाई सहज रूपमा पूजा गर्न आवश्यक पूर्वाधार तयार पार्ने काम
भइरहेको छ ।

महम्मदपुर ब्यारेजस्थित घाटमा समेत व्रतालुहरूको सुविधालाई ध्यानमा राख्दै व्यवस्थापनका विभिन्न कामहरू अगाडि बढाइएको छ। वडाध्यक्ष साहले हालसम्म छठ घाट सजावट तथा व्यवस्थापनको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। बाँकी रहेका कामहरू शनिबार साँझसम्म पूरा गरी छठ पर्वका लागि सम्पूर्ण तयारी सम्पन्न गरिने उहाँले बताउनुभयो। यस वर्ष विगतका वर्षहरूको तुलनामा छठ पर्वमा सहभागी हुने व्रतालु तथा श्रद्धालु भक्तजनको संख्यामा समेत केही वृद्धि हुने अनुमान गरिएको वडाध्यक्ष साहले बताउनुभयो।

भक्तजनको सम्भावित चापलाई मध्यनजर गर्दै घाटमा आवश्यक व्यवस्थापन मिलाउने काम भइरहेको उहाँको भनाइ छ। छठ पर्वको तयारीमा स्थानीय युवाहरू, समाजसेवी तथा सर्वसाधारणको समेत सक्रिय सहभागिता देखिएको छ। सामूहिक रूपमा घाट सरसफाइ तथा सजावटको काम भइरहेकाले स्थानीय समुदायमा उत्साह थपिएको छ। छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सहकार्य र आपसी सद्भावलाई समेत मजबुत बनाउँदै आएको स्थानीयवासीहरूको भनाइ छ।

यसैबीच छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। गरुडा नगरपालिका–५ मा भइरहेको तयारीले यस वर्षको छठ पर्वलाई थप व्यवस्थित, आकर्षक र भक्तिमय बनाउने अपेक्षा गरिएको छ। वडाध्यक्ष साहले सम्पूर्ण वडावासी तथा श्रद्धालु भक्तजनलाई आपसी सहयोग, सद्भाव र एकताका साथ छठ पर्व मनाउन आग्रह गर्नुभएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    लेखकबाट अन्य

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस