रमेश कुमार यादब
कार्तिक २७, रौतहट
ऋणीहरूले लामो समयदेखि लिएको ऋण फिर्ता नगर्दा र पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि रौतहटको गरुडास्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋण असुलीका लागि अनौठो शैली अपनाएको छ। सहकारी संस्थाले तिहारको अवसर पारेर देउसी–भैलो कार्यक्रममार्फत ऋणीहरूलाई सार्वजनिक रूपमा ऋण तिर्न आग्रह गर्दै ताकेता गरेको हो। रौतहट जिल्लाको गरुडा नगरपालिका–४, गरुडामा रहेको उक्त सहकारी संस्थाका अध्यक्ष, कोषाध्यक्षसहित विभिन्न पदाधिकारीहरू देउसी–भैलो टोली बनाएर बजार क्षेत्रका पसल–पसलमा पुगेका थिए ।

उनीहरूले सहकारीबाट विभिन्न समयमा ऋण लिएका तर लामो समयसम्म साँवा तथा ब्याज भुक्तानी नगरेका ऋणीहरूलाई देउसी–भैलोका माध्यमबाट ऋण तिर्न दबाब दिएका हुन्। सहकारीका अध्यक्ष रामजी साहका अनुसार संस्थाबाट विभिन्न मितिमा ऋण लिएका व्यक्तिहरूलाई यसअघि पटक–पटक लिखित रूपमा ताकेता गरिएको थियो। ऋण असुलीका लागि ७ दिने तथा १५ दिने म्यादसहितका पत्रसमेत पठाउँदा पनि ऋणीहरूले कुनै चासो नदेखाएपछि बाध्य भएर देउसी–भैलोमार्फत ध्यानाकर्षण गराउनु परेको उनले बताए।

अध्यक्ष साहले यसअघि औपचारिक रूपमा पत्राचार तथा व्यक्तिगत रूपमा अनुरोध गर्दा पनि ऋणीहरूबाट सकारात्मक प्रतिक्रिया नआएको उल्लेख गर्दै देउसी–भैलो कार्यक्रमलाई अन्तिम पटकको सार्वजनिक आग्रहका रूपमा लिएको बताए। उनले भने, “हामीले यसअघि विभिन्न मितिमा ७ दिने र १५ दिने पत्र काटेर ऋण तिर्न ताकेता गरिसकेका छौँ। तर, ऋणीहरूले कुनै सुनुवाइ नगरेपछि अन्तिम विकल्पका रूपमा देउसी–भैलोमार्फत ध्यानाकर्षण गराएका हौँ। यसबाट पनि ऋण फिर्ता नभए संस्थाले कानुनी प्रक्रिया अगाडि बढाउनेछ ।
” अध्यक्ष साहले देउसी–भैलो कार्यक्रममार्फत ऋणीहरूलाई थप समय दिइएको र उक्त अवधिभित्र ऋण चुक्ता गर्न आग्रह गरिएको जानकारी दिए। त्यस्तै, सहकारी संस्थाका कोषाध्यक्ष नागेन्द्र चौरसियाले संस्थाबाट ठूलो संख्यामा ऋणीहरूले ऋण लिएको तर निर्धारित समयावधि सकिँदासमेत ऋण फिर्ता नगरेको बताए। उनका अनुसार धेरै ऋणीको ऋण भुक्तानी गर्ने समयावधि समाप्त भइसकेको छ । तर, ऋण तिर्ने कुनै तत्परता नदेखिएपछि संस्थाका पदाधिकारीहरू आफैँ बजारमा पुगेर देउसी–भैलोमार्फत ताकेता गर्न बाध्य भएका हुन् ।

कोषाध्यक्ष चौरसियाका अनुसार सहकारी संस्थाबाट गरुडा नगरपालिका–४ का आलु तथा गद्दी व्यवसायी रामबाबु साह बनिया, ग्यास डिलर व्यवसायी योगेन्द्र साह बनिया, अर्का ग्यास डिलर सञ्चालक नागेन्द्र साह, होटल सञ्चालक बाबुलाल साह, दिनेश इलेक्ट्रोनिक्सका सञ्चालक दिनेश गुप्ता, बाक्सा पसल सञ्चालक पारस जैसवाल, लक्ष्मी जनरल स्टोरका सञ्चालक अर्जुन जैसवाल, नागेन्द्र प्रसाद जैसवाललगायत करिब १५० जनाभन्दा बढीले ऋण लिएको जानकारी दिए। ऋण असुलीका लागि सहकारीका पदाधिकारीहरूले देउसी–भैलो खेल्ने क्रममा परम्परागत देउसीका शब्दलाई ऋण फिर्तासम्बन्धी सन्देशमा रूपान्तरण गरेका थिए।
उनीहरूले ‘भनभन भाइ हो देउसी रे, ऋणको पैसा कहिले तिर्ने देउसी रे’, ‘ताकेता गर्दागर्दै थाकिसक्यौँ, ऋण तिरौँ देउसी रे’, ‘बिन्ती गर्छौँ, खुट्टा ढोग्छौँ देउसी रे’, ‘बचतको पैसा कहिले तिर्ने देउसी रे’ र ‘हाम्रो संस्था राम्रो बनोस् देउसी रे’ जस्ता नारा लगाउँदै बजार परिक्रमा
गरेका थिए। कोषाध्यक्ष चौरसियाले देउसी–भैलो कार्यक्रममार्फत ऋणीहरूलाई ऋण भुक्तानी गर्न अन्तिम अल्टिमेटम दिइएको बताए। उनका अनुसार ऋणीहरूलाई १५ दिनभित्र बाँकी रहेको ऋण तिर्न आग्रह गरिएको छ।

तोकिएको समयभित्र पनि ऋण फिर्ता नगरे सहकारी संस्थाले कानुनी प्रक्रियामार्फत रकम असुली गर्ने तयारी गरेको उनले स्पष्ट पारे। सहकारी संस्थाले ऋणीहरूबाट समयमै ऋण असुल गर्न नसक्दा संस्थाको आर्थिक कारोबार तथा बचतकर्ताको रकम व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ। ऋण लिएर समयमै फिर्ता नगर्ने प्रवृत्तिले सहकारीको नियमित कारोबार प्रभावित हुने भएकाले ऋणीहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने संस्थाका पदाधिकारीहरूको भनाइ छ।
सामान्यतया तिहारमा मनोरञ्जन, संस्कृति र आपसी सद्भावका लागि खेलिने देउसी–भैलोलाई यसपटक गरुडामा सहकारीले ऋण असुली तथा बचतकर्ताको रकम फिर्तासम्बन्धी सन्देश प्रवाह गर्ने माध्यम बनाएको छ। ऋण असुलीका लागि अपनाइएको यो फरक शैलीले गरुडा बजार क्षेत्रमा स्थानीयको ध्यान आकर्षित गरेको छ।



