
सर्लाही ,१७ असोज। सर्लाहीमा सशस्त्र प्रहरीले भन्सार छली लुकाइराखेको अवस्थामा ५ लाख ६२ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।
शनिबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर सर्लाही तथा मातहतका युनिटबाट खटिएको टोलीले विष्णु गाउँपालिका–५, फेनरा स्थित एक व्यक्तिको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरमा अवैध रूपमा भन्सार छली गरी लुकाइछिपाइ राखिएको कपडा, खाने तेल, स्प्राइटलगायतका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको कुल मूल्य ५ लाख ६२ हजार ६२० रुपैयाँ रहेको छ।
बरामद सामानलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
