
वीरगञ्ज, ३० भदौ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आगामी असोज ११ गते वीरगञ्ज आउने भएका छन्।
वीरगञ्जस्थित नगरसभा गृहमा आयोजना हुन लागेको नेकपा पर्साको जिल्ला एकता भेला, प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय संयोजक प्रचण्ड र सह–संयोजक नेपाल वीरगञ्ज आउन लागेका हुन्।
नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरीका अनुसार शीर्ष नेतृत्वको उपस्थितिमा हुने कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न जिल्ला पदाधिकारी बैठकले मूल व्यवस्थापन समितिसहित विभिन्न उपसमितिहरू गठन गरेको छ।
सोमबार जिल्ला संयोजक जयप्रकाश थारुको अध्यक्षतामा बसेको बैठकले थारुकै संयोजकत्वमा केन्द्रीय तथा प्रदेश सदस्यहरूलाई समेटेर २१७ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको हो।
बैठकले जयप्रकाश थारुको संयोजकत्वमा फिरोज बादशाह, सब्बा अन्सारी, रूपनारायण सिंह, जयशंकर यादव, अमिरीलाल कलवार, टुनटुन तिवारी, गजाधर पटेल र अनिल पटेल सदस्य रहेको आर्थिक उपसमिति पनि गठन गरेको छ।
त्यस्तै, जिल्ला सह–संयोजक गङ्गाबहादुर खड्काको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति तथा सह–संयोजक फिरोज बादशाहको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ। स्वयंसेवक उपसमितिको सह–संयोजकमा देवेन्द्र पटेल रहेका छन्।
अतिथि सत्कार उपसमितिको संयोजकमा विजयप्रसाद महतो र सह–संयोजकमा हिरा भट्टराईलाई जिम्मेवारी दिइएको छ। यस्तै, किशोरीप्रसाद कुशवाहाको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका मधेश प्रदेश तथा पर्सा जिल्ला अध्यक्षहरू सदस्य रहेका छन्।
जिल्ला एकता भेला, प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको नेकपा पर्साले जनाएको छ। शीर्ष नेताहरूको उपस्थितिले जिल्लामा पार्टी एकता र संगठन सुदृढीकरणका विषयमा कार्यकर्ता तथा समर्थकलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।
पार्टी पदाधिकारी बैठकमा नेकपा मधेश प्रदेशका सह–संयोजक क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’, पर्सा सह–इन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुशवाहा तथा जिल्ला सह–संयोजकहरूलगायत नेताहरूको उपस्थिति रहेको थियो।
