उच्च अदालतको निर्णय : थमन विक हत्या मुद्दामा ३ जनाको जन्मकैद कायम, ६ जनालाई ५ वर्ष सजाय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १८, बिहिबार (३ हप्ता अघि)
  • ८८ पटक पढिएको
उच्च अदालतको निर्णय : थमन विक हत्या मुद्दामा ३ जनाको जन्मकैद कायम, ६ जनालाई ५ वर्ष सजाय

वीरगञ्ज, १८ असार। सशस्त्र प्रहरी बल नेपालका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा उल्ट्याउँदै पूर्व सांसद लक्ष्मी महतो (कोइरी)सहित ६ जनालाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधवार उक्त फैसला सुनाएको हो । जिल्ला अदालत महोत्तरीले २८ मङ्सिर २०८० मा सुनाएको फैसलामा केही अभियुक्तलाई सफाइ दिएको तथा केहीलाई जन्मकैद सुनाएको थियो ।

उच्च अदालतले जिल्ला अदालतबाट सफाइ पाएका एमालेका पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी कोइरी महतो र पवन कापरलाई दोषी ठहर गर्दै जनही पाँच वर्ष कैद सजाय सुनाएको छ ।

अदालतले उनीहरूले प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको ठोस प्रमाण नदेखिए पनि मुख्य अभियुक्तहरूको बयान र घटनाको समग्र परिस्थितिका आधारमा हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गरेको छ ।

यसैबिच, घटनाका मुख्य अभियुक्त प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले यथावत् राखेको छ । तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत उनीहरूलाई दोषी ठहर गरिएको हो ।

प्रमाण र कानुनी प्रक्रिया

उच्च अदालतले चिकित्सकीय प्रतिवेदन, किटानी जाहेरी, अनुसन्धानका क्रममा दिइएका बयान, एम्बुलेन्स चालक सुशील मिश्रलगायतका साक्षीहरूको बयान तथा घटनास्थलका तस्बिरलाई मुख्य प्रमाण मानेको छ । विशेषगरी सञ्जयकुमार साहले असई विकमाथि आक्रमण गरिरहेको दृश्य देखिने तस्बिरलाई अदालतले बलियो प्रत्यक्ष प्रमाणका रूपमा स्वीकार गरेको छ ।

जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका केही अभियुक्तले पुनरावेदन नगरी फरार भएपछि कानुनअनुसारको समयावधि सकिएपछि उच्च अदालतले स्वतः साधक सुनुवाइ प्रक्रिया अघि बढाएको थियो । न्याय प्रशासन ऐन, २०७३ को दफा १० (४) बमोजिम अभियुक्तका परिवारले निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए । अढाई वर्षसम्म विभिन्न कारणले रोकिँदै आएको यो मुद्दा ५०औँ पटकको पेसीमा किनारा लागेको हो ।

के थियो घटना ?

२५ भदौ २०७२ मा मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको थियो । सो क्रममा घाइते भएका असई थमन विकलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा तत्कालीन अनैठा (हाल सनोखडा क्षेत्र) मा आन्दोलनकारीले एम्बुलेन्स रोकेका थिए ।

एम्बुलेन्स अघि बढ्न नसकेपछि घाइतेहरू खेततर्फ लुकेका थिए । त्यसपछि आन्दोलनकारीहरूले उनीहरूलाई बाहिर निकालेर लाठी र ढुङ्गाले साङ्घातिक आक्रमण गरेका थिए । आक्रमणमा परेर असई विकको ज्यान गएको थियो ।

राजनीतिक पृष्ठभूमि

घटनापछि फरार रहेका लक्ष्मी कोइरी महतो २०७९ सालमा महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । फरार अवस्थामै उनले संसदीय गतिविधिमा सहभागिता जनाएको विषयले व्यापक आलोचना खेपेको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि उनी संसद् बैठकमा नियमित उपस्थित हुन थालेका थिए । गत फागुनको निर्वाचनमा एमालेले उनलाई पुनः उम्मेदवार बनाएको भए पनि उनी तेस्रो स्थानमा सीमित भएका थिए ।

उच्च अदालतको पछिल्लो फैसलासँगै बहुचर्चित थमन विक हत्या प्रकरणमा कानुनी रूपमा नयाँ मोड आएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस