एकल महिलालाई साडी वितरणमा अनियमितता, पोखरिया–१ मा ठूलो भ्रष्टाचार खुलासा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१ हप्ता अघि)
  • ३९ पटक पढिएको
एकल महिलालाई साडी वितरणमा अनियमितता, पोखरिया–१ मा ठूलो भ्रष्टाचार खुलासा

वीरगञ्ज, ०४ जेठ। पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ मा एकल महिलाका लागि वितरण गरिएको साडीमा ठुलो अनियमितता फेला परेको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार वडा अध्यक्ष प्रमोद गिरीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत आवश्यकभन्दा अत्यधिक साडी खरिद तथा वितरण गरेका पाइएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पोखरिया–१ मा अभिलेख अनुसार जम्मा ८ जना मात्रै एकल महिला रहेका छन् । तर २०८० पुस १६ गतेको भौचरमार्फत प्रति थान ७ सय ११ रुपैयाँका दरले १ सय ४० थान साडी खरिद गरी वितरण गरिएको देखाइएको छ ।

साडी वितरण गर्न क्रममा वास्तविक लाभग्राही सङ्ख्याभन्दा १ सय ३२ थान बढी वितरण गरिएको पाइएको छ । वडा अध्यक्ष गिरीले ९३ हजार ९ सय ७० रुपैयाँ बराबरको अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ ।

प्रतिवेदनअनुसार स्वीकृत वार्षिक कार्यक्रम, लक्षित समूह तथा स्पष्ट मापदण्डका आधारमा मात्रै सामग्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको भए पनि त्यसको पालना नगरी मनपरी ढङ्गले साडी वितरण गरिएको पाइएको छ । लाभग्राहीको स्पष्ट पहिचान, पारदर्शी प्रक्रिया तथा अभिलेख व्यवस्थापनबिनै सामग्री वितरण गरिएको भन्दै प्रतिवेदनले यसलाई आर्थिक अनुशासन विपरीतको कार्य भनेको छ ।

पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानकै वडामा भएको उक्त घटनाले स्थानीय तहमा हुने वितरणमुखी कार्यक्रमको पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयले लाभग्राही सङ्ख्या भन्दा बढी खरिद तथा वितरण गरिएको ९३ हजार ९ सय ७० रुपैयाँ वडा अध्यक्ष प्रमोद गिरीबाट असुलउपर गरी राज्य कोषमा दाखिला गर्न निर्देशन दिएको छ ।

यससँगै प्रतिवेदनले आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन स्थानीय तहलाई तथ्याङ्कमा आधारित योजना निर्माण, उचित अभिलेख व्यवस्थापन तथा निगरानी प्रणाली थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस