
रौतहट, १५ साउन। रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख (मेयर) प्रेमलाल साह कानुको पद रिक्त भएको छ। नेकपा (एमाले) परित्याग गरेको भन्दै निर्वाचन आयोगले उनको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय सार्वजनिक गरेको हो।
निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बमोजिम दल त्याग गर्ने जनप्रतिनिधिको निर्वाचित पद स्वतः रिक्त हुने कानुनी व्यवस्था अनुसार उक्त निर्णय गरिएको जनाएको छ।
आयोगका अनुसार नेकपा (एमाले) को केन्द्रीय सचिवालयले प्रेमलाल साह कानुले पार्टी विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको निर्णयको प्रतिलिपि आयोगमा पठाएको थियो। सोही आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी देवाही गोनाही नगरपालिकाको नगर प्रमुख पद रिक्त भएको निर्णय गरिएको हो।
निर्वाचन आयोगले सोही निर्णयसँगै देवाही गोनाही नगरपालिका–५ का वडा अध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद पनि रिक्त भएको जनाएको छ। उनी पनि एमाले परित्याग गरेको निर्णयका आधारमा पदमुक्त भएका हुन्।
आयोगले शुक्रबार देशभरका विभिन्न स्थानीय तहका छ जना जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना एकैपटक सार्वजनिक गरेको छ। तीमध्ये रौतहटका मेयर प्रेमलाल साह कानु र वडा अध्यक्ष रामप्रवेश प्रसाद कुर्मी पनि रहेका छन्।
निर्वाचन आयोगको निर्णयसँगै देवाही गोनाही नगरपालिकामा नगर प्रमुख पद पूर्तिका लागि प्रचलित कानुनअनुसार उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ।

