‘कक्रोच जनता पार्टी’ को दिल्लीमा प्रदर्शन, शिक्षामन्त्रीविरुद्ध राजीनामा माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २३, शनिबार (८ घण्टा अघि)
  • ३७ पटक पढिएको
‘कक्रोच जनता पार्टी’ को दिल्लीमा प्रदर्शन, शिक्षामन्त्रीविरुद्ध राजीनामा माग

वीरगञ्ज, २३ जेठ। सामाजिक सञ्जालमार्फत चर्चामा आएको व्यङ्ग्यात्मक अभियान ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आज नयाँदिल्लीस्थित जन्तर मन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध परीक्षा अनियमितताको आरोप लगाउँदै राजीनामा माग गर्नेछ । प्रदर्शनका लागि आवश्यक अनुमति लिइसकेको सिजेपीले जनाएको छ ।

प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट भारत आएका छन् । बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्के यसअघि आम आदमी पार्टीसँग राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आबद्ध थिए । उनले गत मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका हुन् ।

सिजेपीले शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र जबाफदेहिताको माग गर्दै आएको छ । डिप्केले एक्स (पूर्व ट्विटर) मा लेख्दै आफू कानुनी प्रक्रियामा विश्वास राख्ने बताउँदै समर्थकलाई अनावश्यक भीड नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा सिजेपीको प्रभाव उल्लेखनीय देखिएको छ । भारतमा यसको इन्स्टाग्राम खातामा दुई करोड २० लाखभन्दा बढी फलोअर्स रहेका छन्, जुन भारतीय जनता पार्टी (९० लाख) र काँग्रेस (एक करोड ३० लाख) भन्दा धेरै हो । कडा निगरानीका बिच केही ह्यान्डल अवरुद्ध गरिए पनि अभियानको लोकप्रियता बढ्दो छ ।

लद्दाखका शैक्षिक तथा वातावरण अभियन्ता सोनम वाङचुक पनि प्रदर्शनमा सहभागी हुने जनाइएको छ । सिजेपीले आजको विरोध शान्तिपूर्ण रहने दोहोर्‍याउँदै शिक्षा प्रणालीमा सुधारका लागि दबाब सिर्जना गर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस