करोडौँको लेनदेन विवादमा सांसद आशिका तामाङको नाम जोडिएको दाबी, प्रहरीमा उजुरी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ४, सोमबार (१७ घण्टा अघि)
  • ४३ पटक पढिएको
करोडौँको लेनदेन विवादमा सांसद आशिका तामाङको नाम जोडिएको दाबी, प्रहरीमा उजुरी

वीरगञ्ज, ०४ साउन। अमेरिकामा बस्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको करोडौँ रुपैयाँको लेनदेन विवादमा प्रतिनिधिसभा सदस्य आशिका तामाङको नामसमेत जोडिएको दाबी गरिएको छ। पीडित पक्षले ठगी, किर्ते तथा चेक दुरुपयोगको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराउन खोजे पनि तत्काल दर्ता नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा समेत निवेदन दिएको जनाएको छ।

पीडित परिवारका अनुसार क्यान्सरपीडित डम्बरबहादुर बुढाथोकीको उपचारका क्रममा जीवनप्रसाद बास्कोटाले आफूलाई बीमा कम्पनीसँग आबद्ध वरिष्ठ कर्मचारीको रूपमा परिचय दिँदै परिवारसँग निकटता बढाएका थिए। त्यसक्रममा विभिन्न बहानामा नगद तथा बैंकिङ कारोबारमार्फत २ करोड ८ लाख रुपैयाँ लिएको उनीहरूको दाबी छ।

परिवारले बास्कोटाले घरमा आउजाउ गर्ने क्रममा चेकबुक चोरी गरेको र पछि किर्ते हस्ताक्षर प्रयोग गरी चेक बाउन्स गराएर आफूहरूलाई ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएको छ। पीडित पक्षका अनुसार पहिलो चेक जीवनप्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख रुपैयाँ र त्यसपछि अर्को चेक सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको बाउन्स भएको सूचना प्राप्त भएको थियो।

कुष्मा बुढाथोकीले आफू अमेरिका बस्दै आएको अवस्थामा नेपालमा किर्ते हस्ताक्षर गरी चेक प्रयोग गरिएको दाबी गर्दै सांसद आशिका तामाङको नाममा रहेको चेक कसरी प्रयोग भयो भन्ने विषय अनुसन्धानको दायरामा आउनुपर्ने बताएकी छन्।

पीडित परिवारले डेढ करोड रुपैयाँभन्दा बढीको चेक बाउन्स प्रकरण देखाएर आफूहरूलाई जेल हाल्ने तथा अमेरिकामा रहेकी कुष्मालाई इन्टरपोलमार्फत पक्राउ गराउने धम्की आएको समेत आरोप लगाएको छ। उनीहरूका अनुसार आफूहरू जाहेरी लिएर प्रहरी परिसर काठमाडौं पुगे पनि तत्काल उजुरी दर्ता हुन सकेन।

कुष्मा बुढाथोकीले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएपछि आयोगले प्रहरीलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको र त्यसपछि प्रहरीले जाहेरी दर्ता गर्ने आश्वासन दिएको दाबी गरेकी छन्।

यता आरोपित जीवनप्रसाद बास्कोटाले भने आफूमाथि लगाइएका ठगी, चेक चोरी र ब्ल्याकमेलका सबै आरोप अस्वीकार गरेका छन्। उनले यो विषय व्यक्तिगत आर्थिक लेनदेनसँग सम्बन्धित रहेको दाबी गर्दै खातामा पर्याप्त रकम नभएका कारण चेक बाउन्स भएको बताएका छन्। बास्कोटाले आफूले कसैलाई बीमा गराइदिने भन्दै रकम नलिएको तथा कुनै प्रकारको ठगी नगरेको दाबी गरेका छन्।

सांसद आशिका तामाङसँग आफ्नो कुनै चिनजान, मिलेमतो वा सम्बन्ध नरहेको पनि बास्कोटाको भनाइ छ। उनले आशिका तामाङको नाममा रहेको चेकबारे आफूलाई जानकारी नभएको र त्यससम्बन्धी विषय सम्बन्धित पक्षहरूले नै स्पष्ट पार्नुपर्ने बताएका छन्।

उक्त घटनाबारे प्रहरीमा दुवै पक्षबाट निवेदन परेको जनाइएको छ भने आरोप–प्रत्यारोपबीच घटनाको वास्तविकता खुलाउन प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको बताइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस