कर्मचारी कटौतीको मार मधेसमा, अधिकृत तहको विज्ञापन अन्योलमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २९, बिहिबार (२ घण्टा अघि)
  • ५० पटक पढिएको
कर्मचारी कटौतीको मार मधेसमा, अधिकृत तहको विज्ञापन अन्योलमा

जनकपुरधाम,२९असोज।  मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फका अधिकृत सातौँ र आठौँ तहको विज्ञापन रोकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले विज्ञापन प्रकाशन गर्न नसकेको हो।

आयोगको वार्षिक कार्यतालिकाअनुसार असोज महिनाको अन्तिम बिहीबार अर्थात् असोज २९ गते अप्राविधिक र प्राविधिकतर्फका अधिकृत पदको विज्ञापन खुल्नुपर्ने थियो। प्रदेश निजामती सेवा ऐन, २०७७ को व्यवस्थाअनुसार मुख्यमन्त्री कार्यालयले निर्धारित समयमै रिक्त पदको विवरण आयोगलाई पठाउनुपर्छ। तर कार्यालयले सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणको कारण देखाउँदै तत्काल कर्मचारीको माग पठाउन नसकिने जानकारी आयोगलाई गरायो।

मुख्यमन्त्री कार्यालयले असोज २३ गते आयोगलाई पत्र पठाउँदै प्रमुख सचिवको संयोजकत्वमा साउन ११ गते बसेको सचिव बैठकको निर्णय उद्धृत गरेको छ। बजेट वक्तव्यको बुँदा नम्बर १०९ लाई आधार मान्दै पत्रमा ‘कर्मचारी दरबन्दी कम्तीमा १५ प्रतिशत कटौती गर्नुपर्ने भएकाले ओएण्डएम सर्वेक्षण नसकिन्जेल नयाँ पदपूर्ति र बढुवा रोक्का गरिएको’ उल्लेख छ।

मधेस प्रदेश सरकारअन्तर्गतका निकायहरूको ओएण्डएम कार्य सम्पन्न भई नसकेकाले तत्काल कर्मचारी माग गर्न नसकिएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ।

मुख्यमन्त्री कार्यालयबाट यस्तो बेहोराको पत्र आएपछि आयोगले असोज २८ गते विज्ञापन नखोल्ने निर्णय गरेको हो । आयोगले बिहीबार एक सूचना जारी गर्दै कार्यतालिकामा निर्धारित अधिकृत तहको विज्ञापन हाललाई हुन नसकेको जानकारी सम्पूर्ण सरोकारवालालाई गराएको छ। प्रदेश सरकारको यो कदमले प्रदेश निजामती सेवामा प्रवेश गर्न तयारी गरिरहेका परीक्षार्थीहरू भने प्रभावित भएका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस