गरुडाको नगरसभा सम्पन्न, ८५ करोडभन्दा बढीको बजेट प्रस्तुत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (३ घण्टा अघि)
  • ८३ पटक पढिएको
गरुडाको नगरसभा सम्पन्न, ८५ करोडभन्दा बढीको बजेट प्रस्तुत

पवन कुमार उपाध्याय

रौतहट , ०५ भदौ। निर्धारित समयभन्दा करिब दुई महिना ढिलो गरी रौतहटको गरुडा नगरपालिकाको १५औँ नगरसभा अधिवेशन तथा १०औँ बजेट अधिवेशन आज उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।

गरुडा नगरपालिका कार्यालयको सभाहलमा नगरप्रमुख कन्थमनि प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ।

तर गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच देखिएको आन्तरिक विवाद तथा द्वन्द्वका कारण निर्धारित समयमै नगरसभा आयोजना गरी बजेट ल्याउन नसकिएको हो। लामो समयदेखि रोकिएको नगरसभा आज आयोजना गर्दै नगरपालिकाले चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरसभामा नगर उपप्रमुख पुनम कुमारी चौधरीले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन्। नगरपालिकाले चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसा बराबरको बजेट प्रस्तुत गरेको छ।

नगरपालिकाले प्रस्तुत गरेको अनुमानित आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १३ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ करोड ९२ लाख ८२ हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २४ करोड ८६ लाख रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ १ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदान चालुतर्फ २ करोड १० लाख रुपैयाँ र समपूरक अनुदान पुँजीगततर्फ १ करोड ३९ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९२ लाख ५९ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगत ६० लाख रुपैयाँ, विशेष अनुदान चालु २० लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले स्थानीय राजस्व बाँडफाँडबाट २ करोड १० लाख रुपैयाँ तथा आन्तरिक आयबाट १६ करोड १९ लाख ७० हजार ९ सय २ रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। यसबाहेक सञ्चित कोषमा मौज्दात तथा अन्य शीर्षकबाट प्राप्त हुने रकमसमेत समेटेर नगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसा आम्दानी हुने अनुमान गरेको छ। उक्त अनुमानित आयका आधारमा नगरपालिकाले चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ ३२ करोड १९ लाख ५ हजार रुपैयाँ र चालु खर्चतर्फ ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ।

यसरी कुल बजेट ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसा बराबर रहेको छ। नगरसभामा नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास तथा नगरवासीको आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख कन्थमनि प्रसाद जयस्वासले बताए । नगरसभा कार्यक्रममा गरुडा नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका सबै वडाध्यक्ष, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत उपसचिव नाथु साह, इन्जिनियर नागेन्द्र राय यादव, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

लामो समयदेखि बजेट नआउँदा नगरपालिकाका नियमित विकास तथा सेवा प्रवाहका काम प्रभावित हुँदै आएका थिए। ढिलै भए पनि नगरसभा सम्पन्न भई नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएपछि नगरपालिकाका आगामी योजना तथा विकास निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ। नगरसभाबाट प्रस्तुत नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमार्फत गरुडा नगरपालिकाले नगरवासीको आवश्यकता, माग र अपेक्षालाई सम्बोधन गर्दै विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस