
रौतहट,३० असोज। गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति रतुवामाई नगरपालिका–५ गोबिन्दपुरमा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन् भने करिब १०० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र अररिया जिल्लाकै महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। प्रहरीको गोली लागेर चौधरीको देब्रे खुट्टाको पिँडुलामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे रतुवामाई नगरपालिका–५ गोबिन्दपुरस्थित बक्रा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो। उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट बिहीबार राति गस्ती टोली परिचालन गरिएको थियो।
राति करिब ९ः२५ बजे केही व्यक्तिले गाँजा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीसँग जम्काभेट भएको थियो। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो।
हवाई फायर गर्दा पनि नरोकी भाग्न खोजेपछि प्रहरीले थप एक राउन्ड गोली चलाएको थियो। उक्त गोली चौधरीको देब्रे खुट्टाको पिँडुलामा लागेको प्रहरीले जनाएको छ। त्यसपछि घाइते चौधरी र यादवलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूको साथबाट करिब १०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।
