
जनकपुरधाम, १९ असार। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बिहीबार धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह तथा उपभोक्ता हितसम्बन्धी मापदण्ड पालना भए–नभएको विषयमा निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा विभिन्न होटलमा कमजोरी र त्रुटि भेटिएपछि चार होटललाई नगद जरिबाना गरिएको छ भने अन्य होटललाई सुधार गर्न सचेत गराइएको छ ।
मन्त्री महतोका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबा होटललाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयाल समराट होटललाई ५ हजार रुपैयाँ, जनकपुरस्थित बाजेको सेकुवा होटललाई ७५ हजार रुपैयाँ तथा बर्गर हाउसलाई ३५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
यससँगै चारवटै होटलबाट कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
अनुगमन टोलीले सरसफाइ, खाद्य पदार्थको गुणस्तर, भण्डारण व्यवस्था तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड पालना गर्न होटल व्यवसायीलाई निर्देशन दिएको छ ।
मापदण्ड पूरा नगरेका होटललाई तत्काल सुधार गर्न सचेत गराउँदै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने मन्त्री महतोले बताएका छन् ।
