
रौतहट, ०२ साउन। रौतहट प्रहरीले स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन १ गते दिउँसो करिब ४ः३० बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अटो रिक्सा रोकेको थियो।
चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवालमाथि शंका लागेपछि खानतलासी गरिएको थियो।

त्यसक्रममा उनले लगाएको मोजाभित्र लुकाएर राखिएको नेपाली ५ लाख ५० हजार रुपैयाँ तथा भारतीय ४ हजार ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जनाएको छ।
साथै उनीसँग रहेको भिभो कम्पनीको एउटा मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जयसवालले यसअघि पनि विभिन्न मितिमा निश्चित पारिश्रमिक लिएर भरियाका रूपमा भारतबाट नेपालतर्फ नगद रकम ल्याउने गरेको स्वीकार गरेका छन्।
घटनाका सम्बन्धमा बरामद रकमको स्रोत तथा यसमा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
