ग्यास अभाव बढेपछि आयल निगमको निर्देशन– घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१ महिना अघि)
  • ८९ पटक पढिएको
ग्यास अभाव बढेपछि आयल निगमको निर्देशन– घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता

वीरगञ्ज, १७ साउन। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले सम्पूर्ण ग्यास उद्योग तथा बिक्रेताहरूलाई आपूर्ति व्यवस्था तत्काल सहज बनाउन कडा निर्देशन दिएको छ। निगमले शनिबार जारी गरेको विज्ञप्तिमार्फत कृत्रिम अभाव हुन नदिन र सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन आग्रह गरेको हो।

निगमका अनुसार १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास सिलिन्डरको बिक्री–वितरण पुनः सुरु भए पनि विभिन्न स्थानबाट उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि निगमले विशेष चासो दिएको हो।

निगमले ग्यास बिक्रेता (डिलर) हरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई पहिलो प्राथमिकतामा राखी मात्र ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ। साथै, बिक्री प्रक्रियालाई पारदर्शी बनाउन प्रत्येक खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको स्पष्ट अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास वितरण गर्न पनि भनिएको छ।

कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा उपभोक्तालाई अनावश्यक रूपमा ग्यास नदिने कार्य नगर्न निगमले उद्योगी तथा बिक्रेताहरूलाई सचेत गराएको छ।

यस्तै, बजारमा ग्यासको अस्वाभाविक अभाव, कालोबजारी वा बिक्रीमा अनियमितता देखिएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गराउन सक्ने निगमले जनाएको छ।

निगमले सबै सरोकारवालालाई आपूर्ति प्रणालीलाई नियमित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सहयोग गर्न पनि आग्रह गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस