
वीरगञ्ज, ०१ भदौ। खाना पकाउनेको ग्यासको आभाव रहेको बेला ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सँचालन गर्दै आएको सागर ट्रेडर्सबाटै भारी सँख्यामा ग्यास बरामद भएको छ ।
अध्यक्ष पण्डितको गोदामबाट १३१ वटा मनोज कम्पनीको ग्यास बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । जनकपुरको बजरँगचौकस्थित रहेको सागर ट्रेडर्समा उपभोक्ताहरुको गुनासोको आधारमा अध्यक्षकै पसलमा छापामारी गरेको थियो । नेपाल आयल निगम महेन्द्रनगर डिपोबाट रामराज सिँहको नेतृत्वमा खटि गएको अनुगमन टोलीले सटर बन्द गरि राखिएको अवस्थामा छापामारी गर्दा १३१ भर्ती ग्यास बरामद भएको जनाएको छ ।
अनुगमन टोलीकै एक कर्मचारी अनुसार, ग्यासको अभाव भएको बेला पण्डितले सटर डाउन गरी राखेका थिए । सटर बन्द गरी ग्यास जम्मा गरेको आरोपमा कारवाही प्रक्रिया थालिने जानकारी दिए । उनले आम उपभोक्तालाई ग्यास नदिएर सटरमा ताला लगाएर राखेको अवस्थामा ग्यास बरामद भएको पाईएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा कारवाही हुने उनले बताए ।
यता, अध्यक्ष पण्डितले भने उपभोक्ताहरुलाई ग्यास वितरणको लागि राखिएको बताएका छन् । उनले भने आफ्नो गोदाममा राखिएको ग्यास कालाबजारीका लागि होइन उपभोक्ताहरुलाई सूची अनुसार बाँड्नका लागि थियो । तर कुरै नबुझी छापामारी गरी सो ग्यास नियन्त्रणमा लिएका हुन् ।
