चार दिनको अन्तरमै अन्डा महँगियो, प्रतिक्रेट ५० रुपैयाँ बढ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (३ घण्टा अघि)
  • २६ पटक पढिएको
चार दिनको अन्तरमै अन्डा महँगियो, प्रतिक्रेट ५० रुपैयाँ बढ्यो

काठमाडौँ , ०५ साउन। नेपाल लेयर्स कुखुरापालक संघले साउन लागेपछि ४ दिन फरकमा २ पटक अन्डाको भाउ बढाएको छ ।

देशैभरिका अन्डा उत्पादक किसानको राय, परामर्श र सिफारिस आधार मानी संघले प्रतिक्रेट अन्डाको भाउ ५० रुपैयाँ बढाउने निर्णय भएको जनाएको छ ।

संघले पहिलो पटक १ साउनमा बैठक बसी २ देखि लागु हुने गरी मूल्य बढाएको थियो भने त्यसको ४ दिन पुग्न नपाउँदै पुन: साउन ५ मा अर्को बैठक डाकेर साउन ६ देखि लागु हुने गरी दोस्रो पटक मूल्यवृद्धि गरेको छ ।

पछिल्लो संशोधित दर अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ बाट बढाएर ५ सय १५ रुपैयाँ पुर्‍याइएको छ भने ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको ठूलो अन्डाको मूल्यवृद्धि गरी ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी ४ सय २० रुपैयाँ रहेको मिडियम अन्डाको भाउ ४ सय ७० रुपैयाँ पुगेको छ भने सानो अन्डाको मूल्यमा प्रतिपेटी २ सय वृद्धि भई २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

संघले सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि गरेसँगै उपभोक्ताका लागि प्रति गोटा अन्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।

संघ सचिव मदन पोखरेलका अनुसार लागत मूल्य र बजार अवस्था मध्यनजर गर्दै किसानको हितका लागि यो नयाँ समर्थन मूल्य तय गरिएको दाबी गरे ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस