चार दिनदेखि हराएकी ३ वर्षीया बालिका मृत फेला, सुनसान घरमा शव भेटियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (२ हप्ता अघि)
  • ७४ पटक पढिएको
चार दिनदेखि हराएकी ३ वर्षीया बालिका मृत फेला, सुनसान घरमा शव भेटियो

बारा, ०३ भदौ। जीतपुरसिमरा उपमहानगरपालिका–१ मा चार दिनदेखि बेपत्ता तीन वर्षीया बालिका गरिमा चौधरीको शव मङ्गलबार साँझ सुनसान घरभित्र फेला परेको छ।

गत साउन ३१ गते बिहान करिब ८ बजे घरबाहिर खेलिरहेका बेला अचानक बेपत्ता भएकी बालिकाको शव आफ्नै घरबाट करिब दुई सय मिटरको दूरीमा रहेको लामो समयदेखि मानिस नबस्ने खाली घरमा फेला परेको हो।

स्थानीय गोठालाहरूले उक्त घरबाट दुर्गन्ध आएको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घरभित्र खोजी गर्ने क्रममा बालिकाको शव फेला पारेको जनाएको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले मङ्गलबार साँझदेखि नै घटनास्थललाई घेराबन्दी गरी प्रमाण सङ्कलन तथा अनुसन्धान सुरु गरेको छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन वीरगञ्जबाट तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा झिकाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

बालिकाको मृत्यु कसरी भयो भन्ने विषय भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीको भनाइ छ। शव वीरगञ्ज/कलैयास्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ।

बालिका चार दिनअघि घरबाहिर खेलिरहेकै अवस्थाबाट हराएकी थिइन्। त्यसपछि परिवार, स्थानीयवासी र प्रहरीले खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन। अन्ततः घरबाट करिब दुई सय मिटरकै दूरीमा रहेको सुनसान घरमा शव भेटिएपछि घटनाले थप गम्भीर प्रश्न खडा गरेको छ।

बालिकाको मृत्यु कुनै आपराधिक गिरोहको संलग्नता, अपहरण वा अन्य कारणबाट भएको हो भन्नेबारे प्रहरीले अहिले नै निष्कर्ष निकालिसकेको छैन। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाका सम्भावित सबै कोणबाट अनुसन्धान भइरहेको छ।

प्रहरीले स्थानीयवासी तथा शङ्कास्पद व्यक्तिहरूसँग समेत सोधपुछ सुरु गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट मात्रै बालिकाको मृत्युको वास्तविक कारण तथा घटनामा कसैको संलग्नता भए–नभएको खुल्नेछ।

चार दिनसम्म खोजी गर्दा पनि बालिका घरबाट केही सय मिटरको दूरीमै मृत अवस्थामा भेटिनुले घटनाको अनुसन्धानमाथि स्थानीयवासीको चासो झनै बढेको छ। अब प्रहरी अनुसन्धानले बालिका त्यहाँ कसरी पुगिन् र उनको मृत्यु कसरी भयो भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेछ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस