चोरी भएको मोटरसाइकल नौ महिनापछि फेला, रौतहटका युवक भारतीय प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१५ घण्टा अघि)
  • ८७ पटक पढिएको
चोरी भएको मोटरसाइकल नौ महिनापछि फेला, रौतहटका युवक भारतीय प्रहरीको नियन्त्रणमा

रौतहट,२७ असोज। सीमावर्ती भारतीय क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा चोरीको मोटरसाइकलसहित रौतहटका एक युवक पक्राउ परेका छन्। आधुनिक उपकरणको सहायताले गरिएको जाँचमा मोटरसाइकल चोरीको भएको खुलेपछि भारतीय सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–३, बडेरवा गाउँका रामबाबु यादवका २५ वर्षीय छोरा गजेश प्रसाद यादव रहेका छन्।

भारतीय प्रहरीका अनुसार बाराको कचोर्वा नाकासँग जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको झरोखर थाना क्षेत्रअन्तर्गत पिठवा गाउँनजिक सैनिक सडकमा सवारीसाधन जाँच भइरहेको थियो। सोही क्रममा एचएचडी (ह्यान्ड हेल्ड डिभाइस) मेसिनबाट जाँच गर्दा यादवले चलाइरहेको स्प्लेन्डर प्लस मोटरसाइकल चोरीको भएको खुलेको हो।

प्रहरीका अनुसार उक्त मोटरसाइकल करिब नौ महिनाअघि भारतको ढाका थाना क्षेत्रबाट चोरी भएको थियो। घटनाबारे ढाका थानामा मुद्दा नम्बर ३०र२६ अन्तर्गत १६ जनवरी २०२६ मा मुद्दा दर्ता भएको जनाइएको छ।

मोटरसाइकलको इन्जिन तथा चेसिस नम्बर जाँच गर्दा पुरानो चोरीको घटनासँग मेल खाएपछि यादव पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि ढाका थानामा सोमवार पठाइएको भारतीय प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा चोरीका सवारीसाधन ओसारपसार तथा प्रयोगसम्बन्धी घटनामा सवारीसाधनको पहिचान र अभिलेख जाँचले महत्त्वपूर्ण भूमिका खेल्ने यो घटनाले देखाएको छ। यद्यपि, मोटरसाइकल चोरीमा यादवको संलग्नताबारे थप अनुसन्धानपछि मात्रै विस्तृत तथ्य खुल्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस