
वीरगञ्ज, २६ वैशाख। ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार छापा मारेको छ। वैदेशिक रोजगारीका नाममा ठगी भइरहेको उजुरीका आधारमा मन्त्रालयले प्रहरीसहितको टोली परिचालन गरी उक्त म्यानपावरमा छापा मारेको हो।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार, मलेसिया जान लागेका एक युवाले ठगीमा परेको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो गरेका थिए। प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशन र समन्वयका आधारमा मन्त्रालयको टोली तत्कालै म्यानपावरको कार्यकक्षमा पुगेको थियो।
छापा मार्ने क्रममा टोलीले उक्त म्यानपावरबाट ४३७ वटा पासपोर्ट बरामद गरेको छ। त्यसैगरी, कार्यालयबाट ७ लाख ९० हजार रुपैयाँ नगदसमेत फेला परेको छ। बरामद गरिएको उक्त नगदको कुनै वैधानिक रसिद फेला नपरेकाले सो रकम गैरकानुनी रूपमा असुल गरिएको मन्त्रालयको प्रारम्भिक निष्कर्ष छ।
मन्त्रालयले मुन म्यानपावरलाई तत्कालका लागि सिल गरेको छ। “हामीले प्राप्त प्रमाणका आधारमा म्यानपावरलाई सिल गरेका छौँ र सञ्चालकहरूमाथि थप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ,” स्वकीय सचिव यादवले भने। मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने यस्ता अवैध असुली र ठगीविरुद्ध शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेको छ।
साथै, श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई कुनै पनि म्यानपावरले बढी शुल्क मागेमा वा ठगी गर्न खोजेमा तत्काल मन्त्रालय वा सम्बन्धित निकायमा खबर गर्नसमेत अपिल गरेको छ ।
