जीतपुर–बडनिहार–मनवा–रङ्गपुर सडक जर्जर, तत्काल मर्मतको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (१ घण्टा अघि)
  • ५४ पटक पढिएको
जीतपुर–बडनिहार–मनवा–रङ्गपुर सडक जर्जर, तत्काल मर्मतको माग

पर्सा, २६ वैशाख। पर्सा जिल्लाको ग्रामीण भेग हुँदै जाने प्रमुख सडक जीतपुर–बडनिहार–मनवा–रङ्गपुर जनता सडक ठाउँ–ठाउँमा कालोपत्र भत्किएर जर्जर बनेको छ । करीब एक दशकअघि विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको १७ किलोमिटर लामो सडक अहिले दर्जनौं स्थानमा खाडल बनेर बिग्रिएको अवस्थामा पुगेको छ ।

स्थानीयवासीका अनुसार सडकको बिग्रिएको अवस्थाले दैनिक आवतजावतमा गम्भीर समस्या सिर्जना गरेको छ भने दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

पर्सागढी नगरपालिका–३ का स्थानीय भरत गुरुङ ले व्यस्त सडक समयमै मर्मत नहुँदा जनजीवन प्रभावित भएको बताए । उनका अनुसार सडकमा बनेका ठूला–ठूला खाडलका कारण सवारीसाधन बारम्बार बिग्रिने तथा दुर्घटनाको सम्भावना बढिरहेको छ ।

स्थानीयहरूले सडक विभाग तथा सम्बन्धित निकायको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वर्षौंदेखि सडक मर्मत नहुँदा एम्बुलेन्स, सार्वजनिक यातायात तथा निजी सवारीसाधन सञ्चालनसमेत जोखिमपूर्ण बनेको उनीहरूको गुनासो छ ।

विश्व बैंकको सहयोगमा करिब १७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सडक पर्सा जिल्लाको ग्रामीण क्षेत्र जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ । तर निर्माण भएको छोटो अवधिमै सडक भत्किन थालेपछि यसको गुणस्तरमाथि पनि प्रश्न उठ्न थालेको छ ।

स्थानीयवासीहरूले सडकको तत्काल मर्मत तथा पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । समयमै आवश्यक काम नगरिए दुर्घटना र जनधनको क्षति थप बढ्न सक्ने उनीहरूको चेतावनी छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस