
रौतहट,३० असोज। सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार बोकेको तस्बिर तथा भिडियो पोस्ट गर्दै समाजमा भय र त्रास सिर्जना गर्ने खालका अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
राजदेवी नगरपालिका–१ का २२ वर्षीय श्यामकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । महतोलाई दुई दिन अघि राति ११ बजेको समयमा गौर नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको बताइएको छ ।
महतोले टिकटकमा ‘किङ अफ रौतहट’, ‘रौतहट किङ अलवेज अन टप’ र ‘सिस्टम भाइ’ लगायतका नाम प्रयोग गरी आपत्तिजनक, उत्तेजक तथा अराजक अभिव्यक्ति सार्वजनिक गर्दै आएका थिए । उनका तस्बिर, भिडियो तथा अभिव्यक्तिले समाजमा त्रास सिर्जना गर्नुका साथै शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएपछि प्रहरीले निगरानी बढाएको जनाए ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको निगरानी तथा अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको आपराधिक अभिलेख प्रणालीको जाँच गर्दा महतोको नाममा चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योग लगायतका पाँचवटा मुद्दा रहेको देखिएको उनले बताए ।
सामाजिक सञ्जालको दुरुपयोग गरी धम्कीपूर्ण तथा समाजमा भय र त्रास फैलाउने खालका सामग्री सार्वजनिक गर्ने गतिविधि माथि निगरानी बढाइएको तथा पक्राउ परेका महतोलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकाए ।
