ठमेलमा युवतीमाथि दुर्व्यवहार प्रकरण : हुलिया फेरेर लुकेका साह पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (२ घण्टा अघि)
  • ५६ पटक पढिएको
ठमेलमा युवतीमाथि दुर्व्यवहार प्रकरण : हुलिया फेरेर लुकेका साह पक्राउ

वीरगञ्ज, २१ भदौ। काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भदौ १८ मा भएको घटनामा संलग्न रहेको आरोपमा काठमाडौँ–१४ कलङ्की घर भएका ३० वर्षीय सालिन साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले कलङ्कीबाट नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएपी सन्तोष खड्काका अनुसार पक्राउ परेका व्यक्ति घटनास्थलमा देखिएको हुलियाभन्दा फरक अवस्थामा फेला परेका छन् । “हुलिया परिवर्तन गरेको अवस्थामा सशङ्कितलाई नियन्त्रणमा लिएका छौँ, पीडितलाई बोलाएर यकिन गरेपछि कारबाही प्रक्रिया अघि बढ्छ,” खड्काले बताए । प्रहरीले पीडितलाई सनाखतका लागि बोलाइएको जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि आरोपी घर गएर कपाल काटी छोटो बनाएको कुरा अनुसन्धानका क्रममा उनले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा ठमेलको सडकमा युवतीलाई “ब्याट टच” गर्दै अपशब्द बोलिएको देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

पीडित युवतीले ‘moon’s world’ नामक इन्स्टाग्राम ह्यान्डलमार्फत भिडियो सार्वजनिक गर्दै आफू ठमेलबाट घर फर्कँदै गर्दा अपरिचित युवकले संवेदनशील अङ्गमा छोएर दुर्व्यवहार गरेको बताएकी थिइन् । उनले प्रतिवाद गर्दा ती युवकले “मैले छोएको होइन” भन्दै अस्वीकार गरेको र उल्टै “तँ पनि इन्ट्रेस्टेड थिइस्” जस्ता शब्द प्रयोग गर्दै दोष आफूमा थोपर्न खोजेको उनको भनाइ छ ।

पीडितले ठमेलकै होटेल थ्याङ्कीबाट सिसिटिभी फुटेज प्राप्त गरेपछि घटना र युवकको गतिविधि स्पष्ट भएको बताइएको छ । फुटेजमा वरिपरि रहेका केही व्यक्तिहरूले चासो देखाएको भए पनि युवकले निरन्तर गल्ती अस्वीकार गरिरहेको दृश्य देखिन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस