
वीरगञ्ज, ०२ साउन। गृहमन्त्री सुधन गुरुङकै उपस्थितिमा पर्साको ठोरी गाउँपालिका–२ स्थित दुई होटेलमा छापा मारिएको घटनाले राजनीतिक तथा सुरक्षा वृत्तमा चर्चा र विवाद दुवै सिर्जना गरेको छ ।
छापामार कारबाहीमा सात युवती र दुई होटेल सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिइएको भए पनि पक्राउको कानुनी आधार र मन्त्रीको भूमिकामाथि प्रश्न उठ्न थालेका छन् ।
मिटरब्याज पीडितसँग बाराको सिमरामा लगातार छलफल सकेर चितवनतर्फ जाने क्रममा शुक्रवार साँझ गृहमन्त्री गुरुङ ठोरी बजार पुगेका थिए । त्यहाँ केही स्थानीयले ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटेल’मा अनैतिक गतिविधि हुने गरेको गुनासो गरेका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा स्थानीय महिलाले “पुलिस साइरन बजाएर आउँछ, तलबाट केटी भाग्छ” भन्दै गुनासो गरेको सुनिन्छ । त्यस लगत्तै गृहमन्त्रीले सुरक्षाकर्मीसहित दुवै होटेलमा पुगेर छापा मार्न निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।
छापामा सशस्त्र प्रहरी बल नम्बर १३ गण, बोर्डर आउट पोस्ट (बीओपी) ठोरी र नेपाल प्रहरीको टोली सहभागी थियो । होटेल सञ्चालक, कर्मचारी र पाहुनासहित नौ जनालाई इलाका प्रहरी कार्यालय ठोरी लगिएको छ । पक्राउ परेकामध्ये सात जना युवती रहेका छन् ।
स्रोतका अनुसार छापा मार्नुअघि जिल्ला प्रहरी प्रमुख (एसपी) सुदीप राज पाठक र प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाललाई पूर्व जानकारी दिइएको थिएन । छापा सम्पन्न भएपछि मात्र उनीहरूलाई घटनास्थलमा बोलाइएको बताइएको छ ।
उच्च स्रोतले भन्यो, “स्थानीयको सूचनापछि मन्त्रीज्यूकै निर्देशनमा उहाँकै उपस्थितिमा छापा मारेर पक्राउ गरिएको हो ।”
घटनापछि गृहमन्त्रीको कार्यशैलीमाथि सुरक्षा मामिलाका जानकारहरूले प्रश्न उठाएका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले विभागीय मन्त्री आफैँ फिल्डमा गएर छापा मार्नु उपयुक्त नभएको टिप्पणी गरे । “हवलदारले गर्ने काम गृहमन्त्रीले गर्न सुहाउँदैन। फिल्डमा गएर पुलिसिङ गर्ने काम प्रहरीको हो,” उनले भने ।
अन्य पूर्व सुरक्षा अधिकारीहरूले पनि मन्त्रीले नीतिगत तथा प्रशासनिक नेतृत्वमा केन्द्रित हुनुपर्नेमा प्रत्यक्ष अपरेसनमा संलग्न हुँदा सुरक्षा निकायको मनोबल खस्कन सक्ने बताएका छन् ।
पक्राउ परेका व्यक्तिहरूलाई कुनै आपराधिक वा ‘अनैतिक गतिविधि’मा रंगेहात पक्राउ नगरिएको दाबी गरिएको छ । होटेलमा बसेकै आधारमा नियन्त्रणमा लिइएको हो भने त्यसको कानुनी आधार के हो भन्ने प्रश्न उठाइएको छ ।
ठोरी पर्यटकीय क्षेत्र भएकाले विशेषगरी भारतीय नागरिकहरू मदिरा सेवनका लागि त्यहाँ आउने गर्छन् । यस्ता स्थानमा छापा मार्दा स्पष्ट प्रमाण र कानुनी प्रक्रिया पालना हुनुपर्ने कानुन व्यवसायीहरूको मत छ ।
दुई होटेलमा छापा मारिसकेपछि गृहमन्त्री गुरुङ राति चितवनतर्फ प्रस्थान गरेका थिए । उनले निकुञ्ज क्षेत्र हुँदै यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार र तस्करी नियन्त्रणका लागि सिसिटिभी जडानको योजना रहेको बताएका छन् ।
“यहाँबाट धेरै ड्रग्स सप्लाई हुन्छ भन्ने सूचना आएको छ । नाकाहरूमा सिसिटिभी राख्ने योजना छ,” उनले भिडियोमा भनेका छन् ।
यसअघि सरकारले आन्दोलनरत मिटरब्याज पीडितसँग शुक्रवार नौ बुँदे सहमति गरेको थियो । जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको पैदल मार्च नवौँ दिनमा टुङ्गिएको हो । गृहमन्त्री गुरुङ सिमरामा तीन दिन बसेर पीडितसँग छलफल गरेका थिए ।
छलफल निष्कर्षविहीन भएपछि पीडितका अगुवाहरू हेलिकप्टरमार्फत काठमाडौँ आए भने मन्त्री गुरुङ भने स्थल अनुगमनमा व्यस्त देखिए ।
