
वीरगञ्ज, १५ भदौ। प्राकृतिक विपद्को पीडामा तराई र पहाडबीच कुनै दूरी हुँदैन भन्ने मानवीय सन्देशसहित पर्साको ठोरी गाउँपालिकामा सक्रिय ठोरी युवा समाज तथा स्थानीय युवा अभियन्ताहरूले भोटेकोशी बाढीपीडितका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन्।
“तराई र पहाड एउटै हुन्, उनीहरूलाई दुख्दा हामीलाई पनि दुख्छ” भन्ने भावनाका साथ सुरु गरिएको अभियानअन्तर्गत पछिल्ला एक–दुई दिनदेखि ठोरीका विभिन्न स्थानबाट खाद्यान्न तथा अत्यावश्यक सामग्री संकलन गरिएको हो।
अभियानमार्फत करिब छ चक्के सवारीसाधनमा अट्ने परिमाणमा राहत सामग्री संकलन भएको ठोरी युवा समाजले जनाएको छ। संकलित सामग्रीमा चामल, दाल, चिउरा, भुजा, आलु, सोयाबिन, तरकारीजन्य सामग्री, खाने तेल, ग्यास तथा लत्ताकपडालगायतका सामग्री रहेका छन्।
त्यसैगरी महिला तथा बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै सेनेटरी प्याड, साबुन, सर्फ, स्याम्पु लगायतका सरसफाइ तथा दैनिक उपभोगका सामग्री समेत संकलन गरिएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिक तथा परिवारलाई केही भए पनि राहत पुर्याउने उद्देश्यले ठोरीबाट संकलित सम्पूर्ण सामग्री लिएर युवा समाजको टोली आज बिहान करिब साढे ८ देखि ९ बजेको समयमा प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
बाढीका कारण भोटेकोशी क्षेत्रका विभिन्न बस्तीमा क्षति पुगेको र कतिपय परिवार विस्थापित भएर समस्यामा परेको अवस्थामा राहत सामग्री पुर्याउन अभियान सञ्चालन गरिएको समाजले जनाएको छ।
स्थानीय युवा तथा अभियन्ताहरूको सक्रिय सहभागितामा सञ्चालित अभियानले विपद्को समयमा देशका फरक–फरक भूगोलमा रहेका नेपालीबीच आपसी सहयोग, सद्भाव र मानवीय एकताको भावना बलियो रहेको सन्देश दिएको छ।
ठोरी युवा समाजले अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गर्दै प्रभावित नागरिकको सहयोगका लागि आगामी दिनमा समेत आवश्यक पहल जारी राख्ने जनाएको छ।
