डाक्टरको आन्दोलन चर्कियो, लाखौँ बिरामी उपचार सेवाबाट वञ्चित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ दिन अघि)
  • ३७ पटक पढिएको
डाक्टरको आन्दोलन चर्कियो, लाखौँ बिरामी उपचार सेवाबाट वञ्चित

वीरगञ्ज, १३ साउन। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगातार भइरहेका कुटपिट, दुर्व्यवहार र ज्यान मार्ने धम्कीका घटनाले देशको स्वास्थ्य सेवा गम्भीर संकटमा परेको छ। नेपाल चिकित्सक सङ्घका अनुसार पछिल्लो १० महिनामा मात्रै ९० भन्दा बढी चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना भएका छन्, जसका कारण चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

सोही आन्दोलनअन्तर्गत मंगलबार देशभरका चिकित्सकहरूले आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्दा ३ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भएका छन्। सरकारी तथा निजी अस्पतालका ओपीडी सेवा ठप्प हुँदा उपचारका लागि पुगेका हजारौँ बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन्।

नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारीका अनुसार अस्पतालभित्र जबर्जस्ती प्रवेश गर्ने, चिकित्सकलाई गालीगलौज गर्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा बदनाम गर्ने र फोनमार्फत ज्यान मार्ने धम्की दिने प्रवृत्ति बढेकाले चिकित्सकहरू असुरक्षित महसुस गर्न बाध्य भएका छन्। “डर र त्रासको वातावरणमा गुणस्तरीय उपचार सम्भव हुँदैन,” उनले बताए।

आन्दोलनको प्रमुख कारण बनेको वीरगञ्जस्थित नारायणी अस्पतालको घटनाले देशभरका चिकित्सकलाई आन्दोलित बनाएको छ। शनिबार उपचारका क्रममा ४५ वर्षीय मुटुरोगीको मृत्यु भएपछि मृतकका आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्दै ड्युटीमा रहेका डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण गरेका थिए।

गम्भीर घाइते डा. रामको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको विरोधस्वरूप नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन् भने वीरगञ्जमा लगातार तेस्रो दिनसम्म ओपीडी सेवा पूर्ण रूपमा बन्द रहेको छ।

यसअघि उदयपुरको कटारी अस्पताल, नेपालगञ्जको भेरी अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि पनि कुटपिट र दुर्व्यवहारका घटना भइसकेका छन्।

हडतालका कारण काठमाडौंका वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताललगायत देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ। दूरदराजबाट उपचारका लागि आएका बिरामीहरू उपचार नपाई घर फर्किन बाध्य भएका छन्।

वीरगञ्जमा पनि नारायणी अस्पतालसहित अधिकांश स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द हुँदा पर्सा, बारा, रौतहट तथा आसपासका जिल्लाबाट आएका सयौँ बिरामी समस्यामा परेका छन्। उपचार नपाएका कतिपय बिरामी महँगो खर्चमा होटल वा आफन्तको घरमा बस्न बाध्य भएका छन् भने धेरैजना निराश भएर घर फर्किएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सकमाथिको आक्रमणको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै आयोगले अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावित भएको उल्लेख गर्दै आन्दोलनका वैकल्पिक उपाय अपनाएर वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

उपभोक्ता हित संरक्षण मञ्च तथा शिक्षाविद् केदारभक्त माथेमाले पनि चिकित्सकमाथिको हिंसामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताउँदै बिरामीलाई दुःख दिने गरी स्वास्थ्य सेवा बन्द नगर्न चिकित्सकहरूसँग अपिल गरेका छन्।

माग पूरा नभएको भन्दै नेपाल चिकित्सक सङ्घले बुधबार पनि आकस्मिकबाहेकका सेवा बन्द राख्ने घोषणा गरेको छ। सङ्घका अनुसार काठमाडौं उपत्यकाका चिकित्सकहरूले माइतीघर मण्डलमा प्रदर्शन गर्नेछन् भने उपत्यकाबाहिरका चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ।

चिकित्सकमाथिको बढ्दो आक्रमण, त्यसको विरोधमा भइरहेको आन्दोलन र सेवा अवरुद्ध हुँदा सिर्जित अवस्था तत्काल समाधान हुन नसके स्वास्थ्य सेवा थप जटिल बन्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस