डिजे प्रयोगमा कडाइ, प्रदेश सरकारले कडा नीति लागू गर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (१ हप्ता अघि)
  • ७५ पटक पढिएको
डिजे प्रयोगमा कडाइ, प्रदेश सरकारले कडा नीति लागू गर्ने

जनकपुरधाम, १८ जेठ। सार्वजनिक स्थलमा बढ् दो डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न मधेश प्रदेश सरकारले कडा कदम चाल्ने भएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा बसेको सरोकारवाला निकायको बैठकले पर्सा, बारा लगायत प्रदेशका आठवटै जिल्लामा अत्यधिक आवाज निकाल्ने डीजे तथा ध्वनि उपकरणको प्रयोग नियन्त्रण गर्ने निर्णय गरेको हो । बैठकले ध्वनि प्रदूषण नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय गरी सुरक्षा निकायमार्फत निगरानी र नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले यस सम्बन्धमा प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइ सकिएको जानकारी दिएका छन् । बैठकमा मधेश भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको व्यवस्थित उपयोग, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री– वितरण नियन्त्रणका विषयमा समेत महत्वपूर्ण निर्णय गरिएको छ ।

मधेश भवन परिसरको सुरक्षा अवस्था सुदृढ बनाउन १५ दिनभित्र विस्तृत सुरक्षा मानक सञ्चालन कार्यविधि (एसओपी) तयार गर्न समिति गठन गरिने भएको छ भने भवन परिसरको दैनिक सरसफाइको जिम्मेवारी ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिने र नियमित अनुगमनको व्यवस्था मिलाइने निर्णय गरिएको छ ।

बैठकले मधेश भवनभित्र रहेको कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनाधिकृत व्यक्तिको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै निश्चित समयसीमाभित्र खाली गराउने निर्णय पनि गरेको छ । सो कार्यको समन्वय गृह मन्त्रालयअन्तर्गतको जिन्सी शाखा प्रमुखले सुरक्षा निकायसँग मिलेर गर्नेछन् ।

त्यसैगरी, गुठीका जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएका जग्गा फेला परे कानुनी कारबाही अघि बढाउने तथा दीर्घकालीन संरक्षणका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ । फुटपाथ तथा सार्वजनिक स्थानमा भएका अनधिकृत संरचना हटाउन स्थानीय तहले सुरक्षा निकायको सहयोग मागे आवश्यक सहयोग उपलब्ध गराउने निर्णयसमेत बैठकबाट गरिएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस