
वीरगञ्ज, १९ जेठ। प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहनासहित एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगरस्थित ‘शिव ईम्पोरिय’का सञ्चालक श्यामसुन्दर अग्रवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिक रहेको उक्त पसलमा गरिएको प्रहरी कारबाहीका क्रममा अग्रवाललाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पसलबाट ठूलो परिमाणमा सुनचाँदीका गरगहना तथा नगद रकम बरामद भएको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कविन्द्रसिंह बोहराका अनुसार अग्रवालको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ २ लाख १९ हजार ५००, भारतीय रुपैयाँ ८ लाख ११ हजार ९००, नगद गन्न प्रयोग हुने मेसिन एक थान तथा विभिन्न किसिमका सुन र चाँदीका गरगहना बरामद गरिएको छ । सुनचाँदीका गहना राखिएका बट्टा, पोका र डिब्बा गरी १८५ थान सामग्री फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सुनचाँदीका गरगहनाको अनुमानित मूल्य करिब तीन करोड रुपैयाँ रहेको बताइएको छ। यद्यपि, ती गरगहनाको स्रोत, कारोबारको वैधानिकता तथा सम्बन्धित कागजातबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । व्यापारी अग्रवाललाई नियन्त्रणमा राखेर प्रहरीले थप अनुसन्धान थालेको छ ।
