दसैँ–तिहार लक्षित यात्रु सहायता कक्ष रौतहटका चार स्थानमा स्थापना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २४, शनिबार (१२ घण्टा अघि)
  • ५४ पटक पढिएको
दसैँ–तिहार लक्षित यात्रु सहायता कक्ष रौतहटका चार स्थानमा स्थापना

रौतहट,२४असोज।  दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष ( हेल्प डेस्क) स्थापना गरिएको छ।

चाडपर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्रा गर्न सहज बनाउने उद्देश्यले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष र चन्द्रनिगाहपुरमा रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुर मेनचोक, गरुडा नगरपालिका–४ गरुडा बजार, बौधीमाई नगरपालिका–७ बंकुल चोक र गौर नगरपालिका–८ गौर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिएका छन्।

थापामगरका अनुसार चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गर्न सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षमार्फत यात्रुले यात्राका क्रममा भोग्नुपर्ने समस्या, सार्वजनिक सवारीसाधनमा हुने सम्भावित ठगी, बढी भाडा असुली तथा अन्य गुनासोबारे प्रहरीलाई जानकारी गराउन सक्नेछन्।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अगाडि यात्रुहरूलाई लक्षित गरी रिफ्रेस सेन्टरसमेत स्थापना गरिएको थापामगरले बताए। उक्त सेन्टरमा यात्रुहरूका लागि शुद्ध खानेपानी र शौचालयको सुविधा उपलब्ध गराइएको छ।

चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने यात्रुहरूलाई सहजता प्रदान गर्नुका साथै सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्वमा यात्रा गर्दा ट्राफिक नियमको पालना गर्न, सवारीसाधनको अवस्था जाँच गर्न तथा कुनै समस्या वा गुनासो भए नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस