दुई लाखभन्दा बढी अवैध बेटिङ वेबसाइट र एप बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ८, शुक्रबार (१४ घण्टा अघि)
  • ४५ पटक पढिएको
दुई लाखभन्दा बढी अवैध बेटिङ वेबसाइट र एप बन्द

वीरगञ्ज, ०८ साउन। अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आक्रामक कदम चालेको छ । प्राधिकरणले अवैध रूपमा सञ्चालनमा रहेका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट तथा मोबाइल एप्लिकेसनहरूलाई पूर्ण रूपमा बन्द (ब्लक) गराएको छ ।

सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको ४२ औँ बुँदामा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोक्न २४ घण्टाभित्र यस्ता वेबसाइट बन्द गर्ने निर्णय गरेको थियो। सोही म्यान्डेट र जारी फिफा विश्वकपका क्रममा सट्टेबाजी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्राधिकरणले यो विशेष कारबाही अघि बढाएको हो ।

अवैध साइटहरू नियन्त्रण गर्न प्राधिकरणले एक विशेष टास्क फोर्स गठन गरेर काम गरिरहेको छ। टास्क फोर्सका सदस्य एवं दूरसञ्चारका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै खटाएर २४ सै घण्टा अनलाइन बेटिङका यूआरएल (URL) ब्लक गर्ने कार्य भइरहेको छ ।

प्राधिकरणले सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने नयाँ वेबसाइट वा एपबारे जानकारी भएमा सर्वसाधारणलाई पनि खबर गर्न अनुरोध गरेको छ ।

नागरिकहरूले त्यस्ता अवैध लिङ्कहरूबारे [github.com/NTA-OPM](https://github.com/NTA-OPM) मा गएर विवरण अद्यावधिक (अपडेट) गराउन सक्नेछन् । दर्ता भएका सूचनाका आधारमा प्राविधिक टोलीले तत्काल अनुसन्धान गरी त्यस्ता साइटहरूलाई नेपालभर सञ्चालन हुन नसक्ने गरी ब्लक गर्ने जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस