नदीको भेलमा प्रहरी निरीक्षक केसीको साहस, महिलाको ज्यान जोगियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (१४ घण्टा अघि)
  • ५१ पटक पढिएको
नदीको भेलमा प्रहरी निरीक्षक केसीको साहस, महिलाको ज्यान जोगियो

रौतहट ,१३ असोज। रौतहटको लालबकैया नदीमा बाढीको कटान रोक्न आफैं नदीमा पसेर बाँध जोगाउने नेतृत्व गरेका प्रहरी निरीक्षक भरत केसीले मंगलबार बिहान डुबिरहेकी एक महिलाको पनि जोखिम मोलेर उद्धार गरेका छन्। नदीमा पस्न नहिच्किचाउने केसीको यो अर्को उदाहरणीय कार्य बनेको छ।

मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान डुबिरहेको अवस्थामा फेला परेकी थिइन्। स्थानीयले खबर गरेपछि मर्निङ वाकमा रहेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक केसी तत्काल घटनास्थल पुगे।

नदीमा महिला डुबिरहेको देखेपछि केसीले कुनै सुरक्षा उपकरण वा लाइफ ज्याकेटबिनै नदीमा प्रवेश गरे। जोखिम मोलेर नदीमा पसेका उनले महिलालाई बाहिर निकालेर सुरक्षित स्थानमा ल्याएका थिए। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय मौलापुरमा ल्याइएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पासवान घरायसी समस्याका कारण मंगलबार बिहान करिब ५ बजे परिवारका सदस्यलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। उनका श्रीमान् काठमाडौंमा कपडा सिलाउने काम गर्दै आएका छन् भने उनीहरूका चार छोरा छन्। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब चार किलोमिटर पूर्वमा पर्छ।

केसीको नदीमा पसेर उद्धार गर्ने यो पहिलो जोखिमपूर्ण घटना भने होइन। यसअघि लालबकैया नदीमा तीव्र कटान भइरहेका बेला उनले आफ्नै नेतृत्वमा सुरक्षाकर्मीलाई परिचालन गर्दै आफैं नदीमा पसेर बाँध जोगाउने काममा अग्रसरता देखाएका थिए। कटान तीव्र भएपछि रातिसमेत नदीमा पुगेर सुरक्षाकर्मी तथा स्थानीयसँगै उनले कटान नियन्त्रणका लागि बोरामा बालुवा भर्ने र जोखिमयुक्त क्षेत्रमा राख्ने कामको नेतृत्व गरेका थिए।

केसीको उक्त सक्रियताको मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले स्थलगत निरीक्षणका क्रममा खुलेर प्रशंसा गरेका थिए। मन्त्री महतोले जोखिमपूर्ण अवस्थामा सुरक्षाकर्मीको नेतृत्व गर्दै नदीमा खटिएका केसीलाई पुरस्कृत गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।

लालबकैया नदीको कटान रोक्न नदीमै पसेर बाँध जोगाउनेदेखि अहिले डुबिरहेकी महिलालाई ज्यानको जोखिम मोलेर उद्धार गर्नेसम्मका घटनाले केसीको नेतृत्वमा रहेको प्रहरी टोलीको सक्रियता फेरि चर्चामा आएको छ। मंगलबारको घटनामा पनि स्थानीयले समयमै सूचना दिनु र सूचना पाएलगत्तै केसी घटनास्थल पुगेर तत्काल उद्धारमा जुट्नु महिलाको ज्यान जोगाउन निर्णायक बनेको प्रहरीले जनाएको छ। उद्धारमा स्थानीयवासीले समेत सहयोग गरेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस