
वीरगञ्ज, १५ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरी लैजाने एक महिलाको खोजी भइरहेको छ। भाद्र १४ गते अपराह्न करिब ४ बजे आफन्तसँग शिशु खेलाउने बहाना बनाई ती महिलाले नवजात शिशुलाई अस्पतालबाट चोरी गरी लगेको बताइएको छ।
प्रहरीका अनुसार फोटोमा देखिएकी, रातो कुर्ता–सुरुवाल लगाएकी तथा करिब ३० देखि ३५ वर्ष उमेरकी तराई मूलकी देखिने महिलाले नवजात शिशुलाई आफन्तसँग खेलाउने बहाना गरी अस्पतालबाट लगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनापछि प्रहरीले ती महिलाको खोजतलास तीव्र पारेको छ। प्रहरीले शंकास्पद महिलालाई देख्ने वा उनको अवस्थिति तथा गतिविधिबारे कुनै जानकारी प्राप्त गर्ने जोकोहीलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरेको छ।
प्रहरीले नवजात शिशुको खोजतलासमा सहयोग पुर्याउन सर्वसाधारणसँग हार्दिक अनुरोधसमेत गरेको छ। शिशुको अवस्था तथा घटनासँग सम्बन्धित अन्य विवरणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
शंकास्पद महिलाबारे कुनै जानकारी प्राप्त भएमा ढिलाइ नगरी प्रहरीलाई खबर गर्न र सम्भावित स्थान तथा पहिचानसम्बन्धी सूचना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
