नापी कार्यालयमा अनियमितता, नक्सामा ठूलो हेरफेर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (७ घण्टा अघि)
  • ३५ पटक पढिएको
नापी कार्यालयमा अनियमितता, नक्सामा ठूलो हेरफेर

जनकपुरधाम, १५ जेठ। नापी कार्यालय धनुषामा भद्रगोल छ । नक्सामा व्यापक फेरबदल गरिएको छ । पहिलेदेखि नापी भएको जग्गाको समेत कम्प्युटर नक्सामा फेरबदल गरिएको छ । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने कुम्हरौडामा नेपाल सरकारको नाममा नापी रहेको पोखरी, डबरी, कुलो, पैनी, मठमन्दिर, पुस्तकालय लगायतको नक्सामा फेरबदल गरिएको छ ।

गाउँ ब्लकको जग्गा नापी हुनु भन्दा पूर्व नै लालपुर्जा र नक्सा रहेको जग्गाको हाल कम्प्युटर प्रणालीमा हेरफेर गरिएको छ ।नापीको ब्लुप्रिन्ट नक्सामा रहेको कित्ताको चार किल्ला भन्दा कम्प्युटरमा रहेको नक्साको चार किल्लामा व्यापक अन्तर देखिएको छ । ब्लुप्रिन्टमा पूर्व तर्फ रहेको जग्गा कम्प्युटरमा पश्चिम तर्फ सारिएको छ । बेचबिखन गर्ने क्रममा जग्गाको नक्सा नापीमा भिडाउदा भोगचलन रहेको भन्दा बिल्कुल फरक देखिन्छ । सर्वसधारण त त्यसैलाई सत्य मानेर काम चलाउने गरेका छन् ।

कुम्हरौडाका स्थानीय बासिन्दाहरुले केही दिनदेखि जग्गाको यकिन गर्न नापी कार्यालयमा जाँदा भोगको भन्दा फरक नक्सामा देखिएको बताउने गरेका छन् ।उनीहरुले नापी कार्यालयका प्रमुख लगायतका अधिकृतहरुसित सम्पर्कगर्दा कम्प्युटरमा कसैले चलखेल गरेको हुन सक्ने भन्दै पञ्छिने प्रयास गरेको दुखेसो पोखेका छन् । लक्ष्मीनियाँ ७ कुम्हरौडाको गाउँ ब्लकको जग्गा नापी गरेको झण्डै एक दशक भइसक्यो । तर हालसम्म पुर्जा बितरण गरिएको छैन । गाउँ ब्लकमा रहेको तर पहिलेदेखि नै नाप नक्सा बनेको सार्वजनिक पोखरी, पैनी, कुलो, नदी, नाला, डबरा, मठमन्दिर, पुस्तकालय लगायतको जग्गा नापी कार्यालयका कर्मचारीहरुले मोटो रकम लिएर व्यक्तिको नाममा नापी गरेकाले लालपुर्जा बनाउन समस्या भएको बताइन्छ । नापीका कर्मचारीहरुका अनुसार पहिलेदेखि नापी र लालपुर्जा बनेको सरकारी जग्गा यकिन नगरि व्यक्तिको जग्गाको नापी यकिन गर्न मिल्दैन ।

सरकारी जग्गा मिचिएको अवस्थामा व्यक्तिलाई लालपुर्जा बितरणगर्दा कर्मचारी फस्ने र गाउँका बासिन्दाहरुबीच विवाद हुने उनीहरुको कथन छ । स्थलगत आधारमा भोगचलन रहेको र नापीको ब्लुप्रिन्टमा समेत उल्लेख भए बमोजिमको बाहेक काम गर्दा विवाद र कारबाही समेत हुन सक्ने बताउँदै कर्मचारीहरुले लालपुर्जा वितरण गर्न मानेका छैनन् । स्थानीय वासिन्दाहरुले जनाए अनुसार सरसर्ती हेर्दा २० भन्दा बढी कित्ताको भोगचलन, ब्लुप्रिन्टको भन्दा कम्प्युटरको नक्सामा फरक देखाइएको छ । सार्वजनिक जमिन समेत केहि व्यक्तिले बिक्री गरिसकेको सो नक्साबाट देखिन्छ ।

सर्वसधारणलाई नक्सा सम्बन्धमा ज्ञान नहुने भएकोले हाल गाउँ ब्लकको जग्गा खरिद बिक्रीमा लालपुर्जा बन्ने कित्ता नम्बर अन्यत्र पर्न सक्छ । ब्लुप्रिन्टमा कायम रहेको जग्गाको कित्ता नम्बर समेत कम्प्युटरको नक्सामा फरक देखिएको छ । ब्लुप्रिन्ट र लालपुर्जामा समेत रहेको कित्ता नम्बर र कम्प्युटरमा रहेको कित्ता नम्बर मिल्दैन । तर अधिकांश जग्गा धनीले कम्प्युटरमा उल्लेख भए अनुसारकै नक्सालाई आधार मानेर जग्गा लेनदेन गरिरहेका छन् । नापीका एकजना अधिकृतले तत्काल समस्या नदेखिए पनि पछि ठूलो समस्या आउने सक्ने चेतावनी दिएका छन् ।

कम्प्युटरमा उल्लेख भएको कित्ता नम्बर अनुसारको जग्गामा संरचना बनाउदा पछि त्यो कित्ता नम्बर ब्लुप्रिन्टको कित्ता नम्बर भन्दा फरक पर्न जानेछ । त्यस्तो अवस्थामा महँगो संरचना अन्य व्यक्तिको जग्गामा पर्न जाने र कानुनतः उसैको भोगमा समेत पर्न सक्छ । स्थानीय वासिन्दाहरुले लक्ष्मीनिया गापाको वडा नम्बर ७ मा पर्ने कुम्हरौडाको ब्लुप्रिन्ट र कम्प्युटरको नक्सालाइ रुजुगर्न माग गरेका छन् । उनीहरुले बदमासी गर्ने कर्मचारीहरुलाई तत्काल कारबाही गर्नुपर्ने र ब्लुप्रिन्टको आधारमा कम्प्युटरमा नक्सा सच्याउन माग गरेका छन् ।

नापीका अधिकृतहरु सहमति जनाए पनि त्यसो हुन नसकेको स्थानीयहरुले बताएका छन् । गाउँब्लकको नापी गरिएको जग्गाको पुनः नापजाँच गरी भोगचलन अनुसारको नक्सा कायम गर्न स्थानीयहरुले माग गरेका छन् । भूमि विवाद अत्यन्त खतरनाक हुने भएकाले सरकारी निकायबाट तत्काल त्यसको निरुपण गर्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । उनीहरुले सरोकारवाला निकायले समयमै ध्यान नदिए नापी कार्यालय विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस