नारायणी अस्पतालमा नियुक्ति विवाद, मेसु साहमाथि पक्षपातको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २३, शनिबार (११ घण्टा अघि)
  • ३५ पटक पढिएको
नारायणी अस्पतालमा नियुक्ति विवाद, मेसु साहमाथि पक्षपातको आरोप

वीरगञ्ज, २३ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कर्मचारी नियुक्ति नगर्न निर्देशन दिइरहेका बेला नारायणी अस्पतालले दैनिक ज्यालादारीमा ९ जना कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालको प्रशासन शाखाको अभिलेखअनुसार २०८३ वैशाख १५ गते विभिन्न पदमा कर्मचारी नियुक्त गरिएको हो ।

अभिलेखअनुसार स्टाफ नर्स पाँचौँ तहमा अर्चना शर्मा, रिन्कु चौरसिया, नेहा सर्राफ र पुष्पाकुमारी साहलाई नियुक्त गरिएको छ । त्यसैगरी एनेस्थेसिया सहायकमा उमेशकुमार कुशवाहा, अजय साह र अर्जुन बैठा, अपरेसन सहायकमा अनिलकुमार पटेल तथा कार्यालय सहयोगीमा अनिताकुमारी तेलीलाई दैनिक ज्यालादारीमा भर्ना गरिएको छ ।

सरकारले हाल कुनै पनि प्रकारको नयाँ कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएको अवस्थामा समेत अस्पतालले नियुक्ति प्रक्रिया अघि बढाएको विषयलाई लिएर अस्पतालभित्रै प्रश्न उठ्न थालेका छन् । केही कर्मचारीहरूले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले आवश्यकताभन्दा बढी आफ्ना निकट व्यक्तिहरूलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको आरोप लगाएका छन् ।

प्रशासन शाखाका एक कर्मचारीका अनुसार अपरेसन सहायक पदमा नियुक्त भएका अनिलकुमार पटेल डा. साहसँग सम्बन्धित निजी स्वास्थ्य संस्था ‘सर्वोत्तम अस्पताल’ मा कार्यरत कर्मचारी हुन् । स्रोतका अनुसार पटेल नारायणी अस्पतालमा नियमित रूपमा नभई प्रत्येक शुक्रवार मात्र उपस्थित हुने गरेका छन् भने अन्य समयमा मेडिकल सुपरिटेन्डेन्टसँग सम्बन्धित निजी अस्पतालमा सहायकको भूमिकामा काम गर्ने गरेको आरोप छ ।

यता निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले भने नियुक्त कर्मचारीहरूको तलब ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट व्यवस्थापन गरिने बताए । उनका अनुसार ती कर्मचारीहरूलाई अस्पताल विकास समितिको स्रोतबाट नभई कार्यक्रमगत बजेटमार्फत पारिश्रमिक उपलब्ध गराइनेछ ।

सरकारी निर्देशन जारी रहेकै अवस्थामा गरिएको नियुक्ति प्रक्रिया, कर्मचारी छनोटको आधार तथा कार्यक्रमगत बजेटको प्रयोगबारे थप प्रश्न उठ्न थालेका छन् । यस विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग समेत उठ्न थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस