
वीरगञ्ज, १४ जेठ। सङ्घीय सरकारले संरचना पुनर्संरचना तथा खर्च कटौतीको नीतिअन्तर्गत वीरगञ्जस्थित नारायणी अस्पताललाई मधेस प्रदेश सरकार मातहतमा हस्तान्तरण गर्ने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ । अस्पतालका चिकित्सक डा. नीरज सिंहले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को ३० वैशाखको बैठकले नारायणी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई अधिकतम ६ हप्ताको समयसीमा तोकिएको छ । पाँचौँ हप्तासम्म आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
सरकारले अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा वित्तीय भार बढाउने संरचनाहरूलाई खारेज, एकीकरण, पुनर्संरचना वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने नीति अनुसार यो निर्णय गरिएको जनाएको छ ।
यद्यपि, डा. सिंहले नारायणी अस्पताल केवल स्वास्थ्य संस्था मात्र नभई मधेस प्रदेशको गौरव, इतिहास र जनविश्वाससँग जोडिएको संस्था भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नारायणी अस्पताल सम्पूर्ण मधेसका जनताको आशा र भरोसाको केन्द्र भएको बताएका छन् । “यसलाई केन्द्रीय अस्पतालको रूपमा राखिएको थियो, जसले यसको ऐतिहासिक महत्त्व र रणनीतिक आवश्यकता स्पष्ट पार्थ्यो,” उनले उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस् : वीरगञ्जको नारायणी अस्पताल मधेस प्रदेशमा हस्तान्तरण, ६ हप्ताभित्र प्रक्रिया टुङ्ग्याउन निर्देशन
उनले अस्पताललाई प्रदेश सरकार मातहतमा लैजाने निर्णयले मधेस फेरि पनि राज्यको नजरमा उपेक्षित भएको अनुभूति गराएको बताएका छन् । “के मधेसका नागरिकले गुणस्तरीय र केन्द्रीय स्तरको स्वास्थ्य सेवा पाउने अधिकार राख्दैनन्? के मधेसको ऐतिहासिक संस्थाको महत्त्व केन्द्र सरकारले बिर्सिएको हो?” भन्दै उनले प्रश्न उठाएका छन् ।
डा. सिंहले मधेसका चिकित्सक, बुद्धिजीवी र सर्वसाधारण नागरिकको तर्फबाट निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । “मधेसलाई बारम्बार उपेक्षा गर्ने होइन, सम्मान र समान अवसर दिने समय आएको छ,” उनले लेखेका छन् ।
नागरिक स्तरबाट समेत अस्पताललाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णयको विरोध सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता निखिल बरनवालले पनि निर्णयको विरोध गर्दै पर्सा र बारा जिल्लाका सङ्घीय सांसदहरूलाई निर्णयमाथि पुनर्विचार गर्न सरकारीमाथि दबाब सृजना गर्न आग्रह गरेका छन् ।
“यदि नारायणी अस्पताललाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय हुन लागेको छ भने, यो हामी सबैको लागी दुर्भाग्य हो,” उनले लेखेका छन्, “मधेस प्रदेशको एक मात्र केन्द्रीय अस्पतालको रूपमा रहेको नारायणी अस्पताललाई समेत खर्च कटौतीको नाम मा प्रदेशमा हस्तान्तरण गर्नु निर्णयको विरोध हुनु पर्छ र यसलाई स्तरोन्नति एवं व्यवस्थापन केन्द्र बाटै गर्नु पर्ने छ ।”
नारायणी अस्पताल वीरगञ्जसहित आसपासका जिल्लाका नागरिकलाई सेवा दिँदै आएको प्रमुख सरकारी अस्पताल हो । प्रदेश मातहतमा गएपछि बजेट विनियोजन, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारमा प्रदेश सरकारको प्रत्यक्ष भूमिका रहने अपेक्षा गरिएको छ ।
मधेस प्रदेश सरकारका एक अधिकारीका अनुसार हस्तान्तरणपछि सेवा प्रभावकारिता बढाउने, पूर्वाधार सुधार गर्ने तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना बनाइनेछ ।
सङ्घीय सरकारले भने खर्च कटौती, सेवा दोहोरोपनाको अन्त्य र प्रशासनिक चुस्तता कायम गर्ने उद्देश्यले निर्णय गरिएको स्पष्ट पारेको छ। हस्तान्तरण प्रक्रिया पूरा भएपछि नारायणी अस्पताल औपचारिक रूपमा मधेस प्रदेश सरकारको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालन हुनेछ ।
