निलकण्ठ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु, मिलापत्रमा लेनदेनको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
निलकण्ठ अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु, मिलापत्रमा लेनदेनको आरोप

वीरगञ्ज, २६ वैशाख। वीरगञ्जका निजी अस्पतालहरूमा उपचारका क्रममा हुने घटनालाई निष्पक्ष अनुसन्धान नगरी आर्थिक लेनदेनमार्फत मिलाउने प्रवृत्ति बढ्दै गएको आरोप लागेको छ । पछिल्लो घटनामा निलकण्ठ अस्पताल मा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि घटना रकम लेनदेनमै टुंग्याइएको विषय सार्वजनिक भएको छ ।

वीरगञ्ज महानगरपालिका–३१ चोर्नी निवासी कपिलदेव साहकी करिब ४८ वर्षीया पत्नी प्रमिला देवीलाई पेट दुखेपछि शुक्रबार बिहान करिब ४ बजे उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । परिवारजनका अनुसार अस्पताल पुग्दासम्म उनको अवस्था सामान्य थियो र उनी आफैं मोटरसाइकलमा अस्पताल पुगेकी थिइन् ।

घटनाको समयमा अस्पतालमा विशेषज्ञ चिकित्सक नभई मेडिकल अफिसर मात्र ड्युटीमा रहेको बताइएको छ । सामान्य जाँचपछि इमर्जेन्सीमा औषधि लेखिएको र औषधि खरिद गरी ल्याएपछि एक नर्सले इन्जेक्सन लगाएको परिवारजनको भनाइ छ ।

परिवारले ती नर्स दक्ष नभएको तथा केनुला समेत राम्रोसँग लगाउन नसकेको दाबी गरेका छन् । उनीहरूका अनुसार उक्त दृश्य अस्पतालको सीसीटीभी फुटेजमा समेत देखिएको छ ।

परिवारजनका अनुसार इन्जेक्सन लगाएको केही मिनेटमै प्रमिला देवीको अवस्था अचानक बिग्रिएको, बान्ता भएको र त्यसलगत्तै मृत्यु भएको थियो । घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालमा विरोध जनाएपछि वडा प्रहरी कार्यालय श्रीपुर को टोली अस्पताल पुगेको थियो ।

परिवार स्रोतका अनुसार अस्पताल प्रशासनले उपचारमा लापरबाही भएको स्वीकार गरेको दाबी गरिएको छ । तर घटनाको निष्पक्ष छानबिन, पोस्टमार्टम वा चिकित्सकीय परीक्षण नगरी स्थानीय प्रहरीको रोहवरमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिमा मिलापत्र गरिएको बताइएको छ ।

यस घटनाले उपचारमा वास्तविक लापरबाही भएको हो वा सामान्य चिकित्सकीय जटिलता थियो भन्ने विषयमा गम्भीर प्रश्न उठाएको छ । सरोकारवालाहरूले मृत्युको कारण कानुनी तथा चिकित्सकीय प्रक्रियाबाट यकिन गरी दोषी पाइए कारबाही हुनुपर्ने बताएका छन् ।

यता, चिकित्सकहरूले प्रत्येक मृत्यु घटनालाई दबाब र हल्लाका आधारमा आर्थिक लेनदेनमार्फत समाधान गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसले स्वास्थ्य संस्थामाथिको जनविश्वास कमजोर बनाउने खतरा रहेको छ ।

स्रोतका अनुसार मिलापत्रपत्रमा अस्पतालका तर्फबाट डा. सुनिल यादव ले हस्ताक्षर गरेका छन् भने मृतक परिवारलाई ४ लाख रुपैयाँ नगद प्रदान गरिएको छ । तर प्रमिला देवीको मृत्युको वास्तविक कारण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्की ले प्रहरी अस्पतालमा शान्ति–सुरक्षा कायम गर्न मात्र जाने गरेको बताए । उनका अनुसार उपचारसम्बन्धी विषय नेपाल मेडिकल काउन्सिल ले हेर्ने गर्छ र उजुरी परे आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

वीरगञ्जका एक चिकित्सकले पैसा लेनदेन गरेर यस्ता घटना मिलाउनु कानुनविपरीत भएको टिप्पणी गर्दै चिकित्सक संघले यस्ता गतिविधिको सधैं विरोध गर्दै आएको बताएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस