नेता निधिको टिप्पणी– ‘कांग्रेस फुटिसकेको छ, अर्को पार्टी बनोस्’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
नेता निधिको टिप्पणी– ‘कांग्रेस फुटिसकेको छ, अर्को पार्टी बनोस्’

वीरगञ्ज, ०४ असोज । नेपाली कांग्रेस गगन थापा समूहको महाधिवेशन अन्तर्गत वडा अधिवेशन जारी रहेको बेला देउवा समूहका नेता विमलेन्द्र निधिले आफ्नो समूहले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म सबै तहको अर्को अधिवेशन गर्ने बताएका छन् ।

संस्थापन पक्षले एकलौटी अघि बढाएको महाधिवेशन प्रक्रियामा आफूहरूले स्वीकार्ने अवस्था नै नरहेको उनको भनाइ छ । उनले संस्थापन पक्षले जिल्ला र प्रदेश तहको अधिवेशन नगर्ने निर्णय गरेकोप्रति प्रश्नसमेत उठाएका छन् ।

सञ्चार माध्यमसँग कुरा गर्दै उनले भने, ‘हामीले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने र मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशनसहित सबै तहको अधिवेशन गर्ने तयारी गरेका छौँ । उनीहरूले जिल्ला र प्रदेशको नगर्ने भनेको छ । यसको अर्थ उनीहरू जिल्ला र प्रदेश, जुन हाम्रो संघीय प्रणाली हो, त्यसलाई छोड्न खोजेको हो कि क्या हो ?’ दुई पक्षबीच महाधिवेशन प्रक्रिया अघि बढे पनि पार्टी एकताका लागि संवादको सम्भावना भने अझै रहेको उनको भनाई छ ।

उनले भने सभापति गगन थापाले सार्वजनिक रूपमा १६ गतेसम्म सहमतिको प्रयास गर्ने बताइरहे पनि आफूहरूसँग भने अहिलेसम्म कुनै सम्पर्क गरेको छैन । आफ्नो समूहका केही नेताहरू अर्को पक्षमा गएको विषयमा त्यसलाई व्यक्तिको राजनीतिक स्वतन्त्रताको विषय भएको बताउंदै उनले थपे, ‘जसलाई जाने इच्छा छ, स्वतन्त्रता छ, अधिकार छ। जता जोसँग जाने, जुन पार्टीमा जाने, जोसँग जाने, ऊ स्वतन्त्र हुन्छ ।’ विशेष महाधिवेशनपछि नै कांग्रेस एउटै नरहेको दाबी गर्दै अहिले पनि पार्टीलाई एउटै बनाउने प्रयास भइरहेको बताए ।

‘पार्टी एउटै नरहेको त विशेष महाधिवेशनबाट नै पार्टी फुटिसकेको हो । त्यसैले पार्टी त एउटै छैन,’ उन ले भने, ‘अहिले खाली हामीले कोसिस गरिरहेका छौँ । हामी अझै एउटा पार्टी बनोस् भन्ने चाहन्छौँ ।’ पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णय कुर्ने बताए। सर्वोच्चले पुनरावलोकनको निस्सा दिएकाले आफूहरूले आधिकारिकता पाउनेमा आशावादी सुनिए । ‘सर्वोच्चलाई त कुर्नै प¥यो नि।

सर्वोच्चको न्यायलाई त सबैले कुर्छन्। सर्वोच्चले न्याय दिन्छ भन्नेमा विश्वास छ। पुनरावलोकनको निस्सा दिएको छ। पुनरावलोकनको निस्सा भनेको हत्तपत्त पाइँदैन’ निधिले थपे । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै पार्टीको विवरण अद्यावधिक गरेको निर्णय गलत भएको उनको जिकिर छ । अदालतको मुद्दा विचाराधीन भएपनि राजनीतिक सहमतिको प्रयास पनि सकिएको होरु भन्ने जिज्ञासामा उनले भने, ‘हामीलाई थाहा छैन। राजनीतिक सहमतिको प्रयास भएको छैन। अन्तिम फैसला आओस् न, के हुन्छ, त्यसपछि विचार गर्छौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस