
वीरगञ्ज, ०९ भदौ। दुई स्पा सेन्टरमा प्रहरीले छापा मार्दा सात किशोरीको उद्धार गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित तीन जना छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा सञ्चालित आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज उपमहानगरपालिका–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले विशेष सूचनाका आधारमा स्पा सेन्टरमा जाँच गर्ने क्रममा काममा लगाइएका सात किशोरी फेला पारेको जनाएको छ ।
उद्धार गरिएका किशोरीहरूलाई आवश्यक संरक्षण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सञ्चालकमाथि बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
