नेपाल प्रहरीमाथि संसदमा बढ्दो आक्रोश, प्रश्न उठ्नुको कारण के?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • ९० पटक पढिएको
नेपाल प्रहरीमाथि संसदमा बढ्दो आक्रोश, प्रश्न उठ्नुको कारण के?

वीरगञ्ज, ०४ भदौ। संसदमा नेपाल प्रहरीको कार्यशैलीप्रति आक्रोश बढ्दै गएको छ। सत्तारुढ दलकै सांसदहरूले प्रहरी कार्यशैलीको आलोचना गर्न थालेका छन्।  बुधबारको संसद बैठकमा पनि यस्तै आवाज उठेको छ।

बाराका सांसद रहबर अन्सारीले प्रहरीकै लाचारीका कारण सिमरामा तीन वर्षिय बालिकाको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् । ‘इलाका प्रहरी कार्यालय सिमरा लापरबाही र लेनदेनको केन्द्रबिन्दु बनेको छ,’ उनले भने–‘दुई जना नालायक प्रहरी अफिसरले गर्दा यो घटना भएको छ ।’

घटनालगत्तै प्रहरीलाई जानकारी गराउँदा पनि ४८ घन्टासम्म कुनै चासो नदिएको भन्दै उनले उनले यसमा छानबिनको माग गरेका छन् । ७२ घन्टापछि स्थानीयले शव भेटाएपछि मात्र प्रहरीले अनुसन्धान थालेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय सिमराको प्रमुख डिएसपी दिलिप  क्षेत्री छन्। उनको कार्यशैलीको विषयमा पहिलेदेखि नै प्रश्न उठ्दै आएपनि सरुवा गरिएको छैन । बाराका एसपी नरेन्द्र कुँवर अनेक काण्डमा मुँछिदा पनि आईजीपी दानबहादुर कार्कीले संरक्षण गर्दै आएका छन् ।

गत महिना छानबिनका लागि हेडक्वार्टर ताने पनि आईजीपी कार्कीले उनलाई फेरि बारामै पठाएपछि जिल्लामा बेथिती झन् बढेको छ । कुनै समय बलात्कार काण्डमा जेल बसेका बिचौलिया ठेकेदार विकास गौतमको सेटिङमा आईजीपी कार्कीले कुँवरलाई पुनः बारामै पठाएको स्रोतले अनलाइन नेपालसँग बतायो।

तस्करीमा मिलेमतो देखिएपछि तीन महिनाअघि डीआइजी गोविन्द थपलियाले कुँवरलाई कारबाही गरेका थिए । कारबाहीपछि पनि उनको कार्यशैली सुध्रिएको छैन । जसकारण बारा प्रहरीभित्रको बेथिती संसदमा समेत पुगेको छ ।  अर्कोतर्फ रास्वपाकै सांसद केपी खनालले पनि बुधबार गृह प्रशासन र प्रहरीले लागूऔषध तस्करी रोक्न ध्यान नदिएको भन्दै आलोचना गरे ।

सांसद खनालले लागूऔषध दुर्व्यसनी भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । कैलालीको खुला सीमा र जंगली क्षेत्रमा लागूऔषधको कारोेबार हुने गरेको उनको भनाई थियो ।

लागूऔषध दुर्व्यसनीमा फसेका युवाहरुका कारण समाजमा चोरी, डकैती, झैझगडा, लुटपाट जस्ता घटनामा भएको भन्दै उनले त्यसको नियन्त्रणकाल लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।  यसअघि रास्वपाकै सांसद पुरुषोत्तम यादबले पनि लागूऔषध तस्करीमा प्रहरीले आँखा चिम्लिएको आरोप लगाएका थिए ।

संसदमा प्रहरीको व्यवहार र कार्यशैलीप्रति धेरै सांसदले आक्रोश व्यक्त गर्दै आएका छन्। प्रहरीको पोशाक खरिदको विषयमा त सार्वजनिक लेखा समितिमा छानबिन नै चलिरहेको छ ।

गत साता आईजीपी कार्कीलाई बोलाएर छलफल गरिएको  थियो। जसमा रास्वपाका सांसद खगेन्द्र सुनारले आईजीपी कार्कीलाई  पदबाट हटाएर यस विषयमा छानबिनको माग गरेका थिए।

तर, आईजीपीमाथि असभ्य भाषा प्रयोग गरेको विषय उठाएर भ्रष्टाचारको विषयलाई विषयाान्तर गरिएको थियो। समितिले खरिदसम्बन्धि विवरण १५ दिनभित्र माग गरेको छ । यस भ्रष्टाचारको छानबिन रोक्न प्रहरी नेतृत्व दौडधुपमा लागिपरेको छ । जबकी उपसमिति बनाएर छानबिन गर्न रास्वपाकै सांसदले माग गरिरहेका छन् ।

जेनजी आन्दोलनपछि नयाँ सरकार बनेपनि प्रहरी भने पुरानै शैलीमा चलिरहेको छ । तराईका जिल्लाहरुमा आईजीपीले आफु निकस्थ प्रहरी पठाएर स्वार्थअनुकुल काम गरिरहेको आरोप लागेको छ । खरिदमा उस्तै सेटिङ रहेको विषय पनि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को सचिवालयमा पुगेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस