
रौतहट, २१ वैशाख। नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी रोक्न भारतीय सुरक्षाकर्मीले सक्रियता बढाएको छ । बारा जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्रमा आइतबार सञ्चालन गरिएको संयुक्त अपरेसनमा चार जनालाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१औँ बटालियन, मोतिहारीले बिहार प्रहरीसँग समन्वय गर्दै सूचनाको आधारमा दुई स्थानमा विशेष खोजी अभियान चलाएको थियो । एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार पहिलो कारबाही दिउँसो करिब १२ः४५ बजे ‘डी’ कम्पनी (बीओपी मुर्तिया टोला) र आदापुर प्रहरीको संयुक्त टोलीले इस्लामपुर नजिक गरेको थियो ।
सो क्रममा सीमा स्तम्भ नम्बर ३८२–२१ बाट करिब ५०० मिटर भारततर्फको क्षेत्रमा ४१ बोतल ‘कस्तुरी’ मदिरा र ५ लिटर कच्ची मदिरा बरामद गरिएको छ । घटनामा भारतीय नागरिक २४ वर्षीय साफीक आलम, ३० वर्षीय सरोज माझी र ६० वर्षीय पाचु माझी पक्राउ परेका छन् ।
त्यसैगरी दोस्रो कारबाही साँझ ४ः१० बजे ‘ए’ कम्पनी, अठमोहान र झरौखर प्रहरी चौकीको संयुक्त टोलीले सञ्चालन गरेको थियो । उक्त अपरेसनमा विभिन्न परिमाणका ‘ब्ल्याक ओक’, ‘एम्बिसन’ र ‘कस्तुरी’ ब्रान्डका मदिरा बरामद गरिएको प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिए ।
यस घटनामा बाराको स्वर्ण गाउँपालिका–जमुनिया टोल निवासी ३३ वर्षीय सन्जय (सनोज) प्रसाद यादवलाई बीआर२२एस ७२२९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ । बरामद सामग्री अथमोहन गाउँ नजिक, सीमा स्तम्भ नम्बर ३५८–०५ बाट करिब ४०० मिटर भारततर्फ फेला परेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानले दुवै घटनामा नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको पुष्टि गरेको छ । पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई थप अनुसन्धानका लागि आदापुर तथा झरौखर प्रहरी कार्यालयमा बुझाइएको छ ।
