पर्साको सोलखपुर जंगलबाट अवैध सालको गोलिया काठ बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २, शनिबार (१३ घण्टा अघि)
  • ७६ पटक पढिएको
पर्साको सोलखपुर जंगलबाट अवैध सालको गोलिया काठ बरामद

वीरगञ्ज, ०२ साउन। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विशेष सूचनाका आधारमा पर्साको सोलखपुर जंगल क्षेत्रबाट अवैध रूपमा कटान गरी लुकाईछिपाई राखिएको सालको गोलिया काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार साउन १ गते अपराह्न ४ः५५ बजे वीरगञ्ज महानगरपालिका–३१ स्थित सोलखपुर जंगल क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा जंगलको छेउमा अवैध रूपमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २१ क्यूबिक फिट सालको गोलिया काठ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सोही दिन अपराह्न ५ः२० बजे सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो।

घटनामा संलग्न व्यक्तिको खोजी तथा अवैध काठ कटानीमा संलग्न समूहबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस